२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

होलीमा झडप हुँदा दुईको मृत्यु

कयौं बेपत्ता, केही हताहती भएको आशंका

सोमवार , चैत्र १६, २०७७

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • बाग्लुङ, १६ चैत । होली खेल्ने क्रममा झडप हुँदा बाग्लुङमा दुई जनाको ज्यान गएको छ भने कयौं हताहती भएको आशंका छ । बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा सो घटना घटेको हो ।

    दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा २ जनाको ज्यान गएको र अन्य केही घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय वडा नम्बर ९ का अध्यक्ष कृष्णबहादुर खत्रीका अनुसार केही व्यक्तिको हताहती भएको बताइएको छ । मृत्यु हुनेमा ३६ वर्षिय प्रकाश कुँवर र ३४ वर्षिय दिपक दमाइ रहेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ ।

    गुल्मी, बाग्लुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु र केही युवा घाइते भएको हुन सक्ने आशंका खत्रीले गरेका छन् । उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । 

    इलाका प्रहरी कार्यालय भिमगिठेका अनुसार घटनास्थल मानव बस्ती भन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको यथार्थ विवरण आउन बाँकी छ ।

    स्थानीयवासीका अनुसार घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुन सक्ने सम्भावना रहेको छ। घटनापछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । 

    स्थानीयका अनुसार बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करीब ६ सय जना उपस्थित भएको सो होली मेलामा झडपपछि बाग्लुङकै निसीखोला गाउँपालिका ७ र बडिगाड १० का केही युवा बेपत्ता भएको आशंका गरिएको छ ।