
बिहिवार , आषाढ ५, २०८२
काठमाडौं, ५ असार । राष्ट्रिय सभामा नेकपा (एमाले) की संसदीय दलकी नेता भगवती न्यौपानेले इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले इजरायल र इरानबिच द्वन्द्व चलिरहेको बताउँदै इजरायलमा लगभग ७ हजार र इरानमा एक दर्जन नेपालीहरू रहेको तथ्याङ्क सार्वजनिक भएको बताउनु भयो । उहाँले सरकारले नेपालीहरूको सुरक्षाको निम्ति ध्यान दिने विषयमा पहलकदमी र चासो देखाएको बताउँदै श्रम मन्त्रालयको आयोजनामा सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूलाई राखेर बैठक समेत बसेको बताउनुभयो । उहाँले इजरायलको तेलअभिवस्थित नेपाली दूतावासले नेपालीहरूको विवरण सङ्कलन गरिरहेको बताउँदै फर्किन चाहने नेपालीलाई फर्काउने र त्यहीँ रहनेहरूको सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, “इजरायल र इरानको द्वन्द्वमा हाम्रा नेपाली मजदुरहरू, इजरायलमा लगभग ७ हजार र इरानमा एक दर्जन नेपालीहरू रहेको तथ्याङ्क सार्वजनिक भएको छ । सरकारले नेपालीहरूको सुरक्षाको निम्ति ध्यान दिने विषयमा मैले समाचार सुने, केही पहलकदमी पनि लिएको छ, चासो देखाएको छ । श्रम मन्त्रालयको आयोजनामा सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूलाई राखेर बैठक बसेको छ । तेलअभिवस्थित नेपाली दूतावासले नेपालीहरूको विवरण सङ्कलन गरिरहेको छ । म जोड दिएर भन्न चाहन्छु, नेपाल सरकारले नेपालीहरूको सुरक्षामा ध्यान देओस् । आउन चाहने नेपालीहरूलाई ल्याउने व्यवस्था गरियोस्, त्यहाँ रहनेहरूको लागि सुरक्षाको व्यवस्था होस् भन्ने कुरामा म जोड दिन चाहन्छु ।”
उहाँले मानव स्वास्थ्यलाई ध्यान नदिई मानव पूँजीमा विकास गर्न नसकिने भन्दै नागरिकको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्न सरकारलाई ध्यानाकर्षण गराउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij