२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जनशक्ति उत्पादनमा जोड दिने लक्ष्यसहित बुटवलले ल्यायो नीति तथा कार्यक्रम

शुक्रवार , आषाढ ६, २०८२

बुटवल, ६ असार । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार नगरप्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई सीप तथा रोजगारमा विशेष जोड दिएको बताउनुभयो ।

उहाँले बुटवलमा सीपसहितको जनशक्ति र रोजगार सिर्जनाका लागि पर्याप्त लगानी गर्ने गरी नीति तयार गरेको बताउनुभयो । उहाँले बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउनका लागि लुम्बिनी आउने बौद्ध धर्मावलम्बी र मुक्तिनाथ जाने हिन्दु धर्मावलम्बीको विश्रामस्थलका रुपमा स्थापित गर्ने नीति लिएको बताउनुभयो । उहाँले अन्य स्थानीय तहहरुसँग सहकार्य गरी पर्यटक आगमन वृद्धि गर्ने र बुटवलका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने बताउनुभयो । 

नीति तथा कार्यक्रमका मुख्य बुँदाहरु 

बुटवलबासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थको शुल्क हटाउन रक्त सञ्चार केन्द्रलाई उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिइनेछ । बुटवलका गृहिणी महिलाहरुलाई रोजगारसँग जोड्दै स्वरोजगार बनाउन नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रम अन्तरगत उत्पादित वस्तुको उत्पादन र विक्री केन्द्र (कोशेली घर) स्थापनामा जोड दिइनेछ । त्यसरी उत्पादन भएका सामग्रीलाई नगरको चिनोका रुपमा उपयोग गर्ने नीति लिइनेछ । 

गृहिणी महिलाहरुलाई एकजुट बनाई सीप र व्यवसायका माध्यमबाट आर्थिक उपार्जनमा अगुवाई गर्ने नीति लिइनेछ । गृहणी महिला रोजगार कार्यक्रमअन्तरगत टोल, वडा र नगरस्तरीय सञ्जाल र सीप तथा रोजगार परिषद् गठनको नीति लिइनेछ ।  

शिवनगरमा रहेको गौशालाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै बुटवल १२ चारपाला सामुदायिक वनमा बहुउद्देश्यीय कामधेनु गौशाला तथा अन्य आवश्यक स्थानमा गौशाला स्थापना गरिनेछ । साथै, नवलपरासीको बर्दघाटदेखि दाङसम्मका सडकमा रहेका छाडा पशु चौपायाहरुको व्यवस्थापनका लागि गाई राष्ट्रिय निकुञ्ज निर्माण गर्न लुम्बिनी प्रदेश सरकार र सम्बन्धित स्थानीय सरकारहरुसँग समन्वय गरिनेछ । 
योगीकुटीदेखि चिडियाखोलासम्म, रामनगरदेखि तामनगरसम्म, बेलबास–बेथरी सडक, तामनगर–शुद्धोधन सडकलाई उज्यालो र हरियाली सडकका रुपमा सौन्दर्यीकरण गरिनेछ । 

‘घुमौं बुटवल’ भन्ने अभियान अन्तरगत यसै आर्थिक वर्षलाई बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक र बाह्य पर्यटकको आगमनलाई वृद्धि गर्नका लागि अभियानहरु सञ्चालन गरिनेछ । पर्यटकीय स्थलहरुको पहिचानलाई व्यापक बनाउनका लागि आवश्यक स्थानमा डिजिटल डिस्प्ले र प्रचार सामग्रीहरु निर्माण गरिनेछ । 

बुटवललाई पर्यटकीय विश्रामस्थलको रुपमा स्थापित गर्न बुटवलदेखि मुक्तिनाथ, लुम्बिनी, बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज, सुपादेउराली, रेसुंगा, पाल्पा, चितवन, त्रिवेणी, रिडी, भैरवस्थान, रानीमहल, आलमदेवी, सेतीवेणीजस्ता पर्यटकीय स्थलहरुसम्मको यात्रा तथा बुटवल–चितवन–पोखरा त्रिकोणिय पर्यटन प्रवद्र्धनका लागि आवश्यक अभियान सञ्चालन गरिनेछ । 

बुटवलका महत्वपूर्ण पर्यटकीय स्थलहरु जितगढी किल्ला, युद्ध संग्रहालय, पूरानो बुटवल क्षेत्र, मणिमुकुन्दसेन उद्यान, हिलपार्क, मिलनपार्क, पिस पार्क, सिद्धबाबाधाम, मुक्तिनाथधाम, निलकण्ठबाबाधाम, नरैनापुरधाम, बैठौलिया ताल, वाटरपार्क, थारु संग्रहालय, भैरव पार्क, पाणिनी पार्क, लक्ष्मी पार्कलगायत अन्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यटकीय स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।  

बुटवल–नुवाकोट क्षेत्रमा पैदलमार्ग निर्माण गरी शिवपार्कको रुपमा स्थापित गरिनेछ । कर्णेल उजिरसिंह पार्क तथा रामापिथेकस पार्क निर्माण तथा हिलपार्कमा बुद्ध मूर्ति स्थापनाका लागि पहल गरिनेछ ।