
शुक्रवार , आषाढ ६, २०८२
भैरहवा, ६ असार । रुपन्देहीको भैरहवामा शनिबार (भोली) देखि ‘एसियन बुद्ध टी–१० क्रिकेट’ प्रतियोगिता हुने भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लबको आयोजना तथा एसियन बुद्ध होटल, भैरहवाको मुख्य प्रायोजनमा प्रतियोगिता हुने भएको हो ।
आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएका छन् । क्लबका अध्यक्ष हरि बहादुर थापाले सिद्धार्थ क्रिकेट रंगशालामा हुने प्रतियोगितामा रुपन्देहीका क्लब र एकेडेमीहरु गरी १४ वटा टीम सहभागी हुने जानकारी दिनुभयो । ‘प्रत्येक खेल १० ओभरको हुनेछ, एक दिनमा १३ वटा खेल हुनेछन् । ३ दिनमा खेल सकिनेछ, ’उहाँले भन्नुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. ८० हजार र उपविजेतालाई रु. ४० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने रुपन्देही क्रिकेट संघका अध्यक्ष समेत रहनुभएका थापाले जानकारी दिनुभयो । त्यस्तै सेमीफाइनल खेल खेल्ने दुईवटा टीमलाई नगद रु. १०/१० प्रदान गरिने उहाँले बताउनुभयो । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु. १ हजार २ सय र प्रमाणपत्र तथा म्यान अफ द सिरिजलाई रु. १२ हजार, बेस्ट ब्याटरर र बेष्ट बलरलाई रु.८/८ हजार, उत्कृष्ट क्याच समात्ने र धेरै छक्का हान्ने खेलाडीलाई रु. २ हजार ५ सय पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् । त्यस्तै दर्शकले छक्का क्याच समातेमा रु. ५ सय पुरस्कार प्रदान गरिनेछ ।
‘क्रिकेटको विकासका लागि प्रोफेसनल मास्टर्स–११ ले काम गर्दै आएको छ । खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेका छौं, यो प्रतियोगितालाई होटल एसियन बुद्धले मुख्य प्रायोजन गर्नु सराहनीय छ, ’अध्यक्ष थापाले भन्नुभयो । प्रतियोगिता आईसीसीको टी–१० फम्र्याटमा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
आयोजकका अनुसार प्रतियोगितामा एउटा टीमले कम्तीमा रुपन्देही जिल्लाबाहिरका तीनजना खेलाडीलाई समावेश गर्न पाउनेछन् । बाहिरी खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जुनसुकै क्षेत्रका भए पनि मान्यता दिइने खेल संयोजक तथा प्रोफेसनल मास्टर्स–११ का कप्तान विष्णु कटारियाले जानकारी दिनुभयो ।
एसियन बुद्ध होटलका जनरल म्यानेजर ओम प्रकाश पाण्डेले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा होटलले काठमाडौंमा नयाँ कर्पोरेट कार्यालय खोलेको जानकारी दिनुभयो । उहाँले होटलले सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गर्दै आएको बताउनुभयो ।
प्रतियोगिताको शनिबार बिहान सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।
पत्रकार सम्मेलनमा एसियन बुद्ध होटलका अपरेशन म्यानेजर जे.पी. सुवेदी, रेष्टुरेण्ट म्यानेजर विमल शर्मा लगायतको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij