
शनिवार , आषाढ ७, २०८२
भैरहवा, ७ असार । रुपन्देहीको भैरहवामा शनिबारदेखि ‘एसियन बुद्ध टी–१० क्रिकेट’–२०८२ प्रतियोगिता सुरु भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लबको आयोजना तथा एसियन बुद्ध होटल, भैरहवाको मुख्य प्रायोजनमा सिद्धार्थ क्रिकेट रंगशालामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै मेयर खाँले क्रिकेट खेलमा नेपाल अगाडि रहेको बताउनुभयो । उहाँले सरकारले कम्तीमा १० प्रतिशत खेलकुद क्षेत्रमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एसियन बुद्ध होटलले ग्राहकलाई राम्रो सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताउनुभयो । होटलले क्रिकेट खेलको प्रवद्र्धनका लागि हात अगाडि बढाउनु प्रशंसनीय रहेको उहाँको भनाइ थियो ।
लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीले खेलाडीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लबका अध्यक्ष हरि बहादुर थापाले क्लबले विभिन्न क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले एसियन बुद्ध होटलले सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।
होटलका जनरल म्यानेजर ओमप्रकाश पाण्डेले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा होटलले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
क्षितिज पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्मा, सिद्धार्थनगर नगरपालिका–६ का अध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव लगायतले भनाइ राख्नुभएको थियो ।
प्रतियोगितामा रुपन्देहीका क्लब र एकेडेमीहरु गरी १४ वटा टीम सहभागी हुनेछन् । शनिबार, आइतबार र सोमबार गरी तीन दिन प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताको विजयी टीमले नगद ८० हजार र उपविजेताले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् ।
त्यस्तै सेमीफाइनलमा पुग्ने दुईवटा टीमलाई नगद १०–१० हजार प्रदान गरिनेछ । आयोजकका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद १२ हजार, बेस्ट ब्याटर र बलरलाई नगद ८–८ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ प्रदान गरिनेछ ।
त्यस्तै उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत समान २ हजार ५ सय तथा दर्शकदीर्घाबाट छक्का क्याच गर्ने दर्शकलाई ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता आईसीसीको टी–१० फम्र्याटमा सञ्चालन गरिएको खेल संयोजक तथा प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लबका कप्तान विष्णु कटारियाले बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij