
शनिवार , आषाढ ७, २०८२
भैरहवा, ७ असार । नेकपा (माओवादी केन्द्र) का सचिव चक्रपाणी खनाल ‘बलदेव’ ले माओवादी आन्दोलनलाई सही दिशा दिन बुद्धिजीवीहरुले कलम चलाउनुपर्ने बताउनुभएको छ । नेपाल बुद्धिजीवी संगठन रुपन्देहीको सातौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै सचिव खनालले जनयुद्धको बारेमा समाजमा फैलिएको भ्रम चिर्न बुद्धिजीवी वर्गलाई अग्रसर हुन आग्रह गर्नुभयो । उहाँले माओवादीहरुले मान्छे मारे भनेर रुपान्तरणकारी जनयुद्धलाई बदनाम गर्न खोजिएको उल्लेख गर्दै संसारको कुन चाहि युद्धमा मान्छे मारेको छैन भन्दै प्रश्न गरे ।
पूर्वमन्त्री समेत रहुनभएका खनालले प्राप्त उपलब्धिको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न बुद्धिजीवीहरुले बहस चलाउनुपर्ने बताउँदै समाजलाई दिशानिर्देश गर्ने प्रमुख दायित्व बुद्धिजीवी बर्गको भएको उल्लेख गर्नुभयो ।
त्यस्तै माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले बौद्धिक वर्गले समाज र युगलाई प्रभावित पार्न सक्ने बताउनुभयो । बुद्धिजीवीहरुको तर्कले समाजलाई नयाँ दिशा दिन सक्ने उल्लेख गर्दै नेता बरालले अध्ययनको दायरालाई थप फराकिलो बनाउन आग्रह गर्नुभयो । उहाँले नयाँनयाँ विषयमा बहस र छलफलको परम्परा हट्दै गइरहेको र सामाजिक सञ्जालको आधारमा धारणा निर्माण गर्ने परम्परा विकास भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य रामु परियारले देशको नेतृत्व गर्न सक्ने पार्टी माओवादी केन्द्र मात्रै भएको दावी गर्नुभयो । वर्तमान सरकार इतिहासमै सबैभन्दा अलोकप्रिय भएको बताउँदै उहाँले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सचिव इन्द्र विश्वकर्मा, लुम्बिनी प्रदेश उपाध्यक्ष लोक शर्मा र संगठनका पूर्व जिल्ला अध्यक्ष यज्ञमूर्ति पाण्डेले जययुद्धको ऐतिहासिक पक्ष र गणतन्त्रको पक्षमा बौद्धिक वर्गले बहस गर्नुपर्ने बताउनुभयो ।
सम्मेलनले मेघराज आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा प्रदिप कुमार पाण्डे, हिमा थापा र नेत्रलाल पाण्डे रहनुभएको छ । संगठनको सचिवमा कौशल राज गौतम, सह–सचिवमा डा.चन्द्र बहादुर थापा र लोकराज घिमिरे चयन भएको संगठनले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij