२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

अपराधी गिरोहसँग सरकारको साँठगाँठ रहेको रास्वपा सांसद नेपालीको आरोप

सोमवार , आषाढ ९, २०८२

काठमाडौं, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसाको आवरणमा मानव तस्करीको सञ्जाल नेपालभित्रै बसेर राज्य संरक्षकहरूको मिलोमतोमा चलिरहेको आरोप लगाउनुभएको छ । 

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद नेपालीले सक्रिय मानव तस्कर र्याकेटलाई राज्यले संरक्षण गरिरहेको आरोप लगाउनुभएको हो । उहाँले मानव तस्करीजस्तो जघन्य अपराधमा सरकार निरन्तर मौन रहेको टिप्पणी गर्दै के जनताको मुद्दा उठाउनु अपराध हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले मानव तस्करी केवल कानूनी अपराध मात्र नभई मानवताको गम्भीर अपमानसमेत भएको टिप्पणी गर्दै छानविन समिति गठन गर्न माग गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘सभामुख महोदय के जनताको मुद्दा उठाउनु अपराध हो ? सरकारहरु फेरिन्छन्, मन्त्रीहरु फेरिन्छन् तर मानव तस्करहरु सधैं उन्मुक्त किन हुन्छन् ? मानव तस्करजस्तो जघन्य र अन्तर्राष्ट्रिय अपराध आज विकराल रुपमा उजागर भएको छ । भिजिट भिसाको नाममा मानव तस्कर गर्नु अपराध मात्र होइन यो मानवताको घोर अपमान हो । यो र्याकेट नेपालभित्रै बसेर राज्यको संरक्षणमा सञ्चालित देखिन्छ । यस्तो अपराधमा पनि दुई ठूला दलको सरकार किन मौन छ सभामुख महोदय । यो सरकारको अपराधी गिरोहसँग कुनै साँठगाँठ त छैन ?’

राष्ट्रिय स्वतन्त्र पार्टीले विगत गत १३ जेठदेखि भिजिट भिसा प्रकरणको छानविनको माग गर्दै संसदमा विरोध गर्दै आएको छ ।