२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सरकारले बनाएको समिति अपराधको ढाकछोप गर्ने नयाँ प्रोपोगाण्डा : राप्रपा

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं, १० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारले बनाएको समितिप्रति आपत्ति जनाएको छ । 

मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानबिन समितिको आपत्ति जनाउनुभएको हो । उहाँले १८ वर्षमा १४ जना गृहमन्त्री भएको बताउँदै सबैलाई अनुसन्धानको घेरामा ल्याउनुपर्नेमा दुधको साक्षी बिरालो भएको बताउनु भयो । उहाँले दुधको साक्षी बिरालो राखेर समस्याको समाधान हुन नसक्ने जिकिर गर्नुभयो ।

उहाँले जसको विरुद्धमा छानबिन हुनुपर्ने हो उनीहरूले नै कर्मचारीलाई राखेर छानबिन समितिले विधिको शासन स्थापना नगर्ने बताउनु भयो । उहाँले सरकारले बनाएको छानबिन समिति अपराधको ढाकछोप गर्ने र भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरूलाई उन्मुक्ति दिन ल्याइएको नयाँ प्रोपोगाण्डा भएको जिकिर गर्नुभयो । उहाँले सरकारको यो प्रोपोगाण्डाकाविरुद्ध राप्रपा सडक र सदनमा एकजुट हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, “यो १८ वर्षमा १४ जना गृहमन्त्री भएका छन् । यी १४ जना गृहमन्त्रीलाई अनुसन्धानको घेरामा ल्याउनुपर्छ । तर, अहिले दूधको साक्षी बिरालो । दुधको साक्षी बिरालो राखेर पनि समस्याको समाधान हुन्छ त ? अहिले जसका विरुद्धमा छानबिन हुनुपर्ने हो, उनीहरूले नै कर्मचारीलाई राखेर जुन छानबिन समिति बनाए यसले विधिको शासन स्थापना गर्छ भन्ने मलाई लाग्दैन ।

यो निगाहा प्राप्त गरेको, एकैछिनको अझ अपराधको ढाकछोप गर्ने, भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरूलाई कसरी उन्मुक्ति दिने भनेर ल्याएको नयाँ प्रोपोगाण्डा हो । यो प्रोपोगाण्डाका विरुद्ध राप्रपा सडक र सदनमा एकजुट हुन्छौँ । यो छानबिन समितिले न्याय दिन सक्दैन ।”

उहाँले यो मान्छे बेच्ने प्रक्रिया भएको बताउँदै सङ्ख्याको आधारमा यो मुद्दालाई निस्तेज नपार्न समेत आग्रह गर्नुभयो ।