२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

टी–१० क्रिकेट प्रतियोगिता : एसियन बुद्ध फाइनलमा

बुधवार , आषाढ ११, २०८२

भैरहवा, ११ असार । रुपन्देहीको भैरहवामा जारी जिल्लास्तरीय ‘एसियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’ मा एसियन बुद्ध फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार तीन खेल भएका थिए । एसियन बुद्धले न्यू होराइजन ३४ रनले पराजित गर्दै फाइलन यात्रा पक्का गरेको हो । 

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको एसियन बुद्धले निर्धारित खेलमा ७ विकेट गुमाएर १ सय २१ रनको बलियो लक्ष्य खडा गर्यो । जवाफमा होराइजनले ६ विकेट गुमाएर ८७ रन मात्रै बनायो र हार व्यहोर्यो । खेलमा ७० रन बनाउनुका साथै १ विकेट लिएका एशियन बुद्धका देव खनाल प्लेयर अफ द म्याच भए । 

त्यस्तै अर्को खेलमा तिरुपति क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्लबलाई ८ विकेटले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले ८ विकेट गुमाएर ७५ रन बनायो । प्रतिउत्तरमा तिरुपतिले २ विकेट गुमाएर ७६ रन बनाउँदै जस्त निकाल्यो र सेमिफाइनल प्रवेश गर्यो । खेलमा ४१ रन र १ विकेट लिएका तिरुपतिका बसिर अहमद प्लेयर अफ द म्याच बने ।

त्यस्तै अर्को खेलमा प्रोफेनल मास्टर्स–११ ले टीम रेस्पोन्स लुम्बिनीलाई ५१ रनले पराजित गर्दै सेमीफाइनलमा पुगेको छ । टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले ४ विकेट गुमाएर १ सय १ रन बनायो । जवाफी ब्याटिङ गरेको टीम रेस्पोन्सले अलआउट हुँदै जम्मा ५० रन बनायो । खेलमा प्रोफेसनलका ३ विकेट र ७ रन प्रहार गरेका सुरज खड्का प्लेयर अफ द म्याच बने ।

प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा सञ्चालित प्रतियोगिताको विजयी टीमले ८० नगद र उपविजेताले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

त्यस्तै सेमिफाइनल पुग्ने दुईवटा टीमलाई नगद १०–१० हजार प्रदान गरिने छ । आयोजकका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद १२ हजार, बेस्ट ब्याटर र बलरलाई नगद ८–८ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ प्रदान गरिने छ । 

त्यस्तै उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत समान २ हजार ५ सय तथा दर्शकदिर्घाबाट छक्का क्याच गर्ने दर्शकलाई पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा भैरहवाको एसियन बुद्ध होटल रहेको छ । शुक्रबार तिरुपति र प्रोफेसनल फाइनल प्रवेशका लागि सेमीफाइनलमा भिड्नेछन् । यो प्रतिष्पर्धाबाट विजेतासँग एसियन बुद्धले उपाधिका लागि प्रतिष्पर्धा गर्ने आयोजकले जनाएका छन् ।