२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्वास्थ्यकर्मीलाई आँखा सुरक्षासम्बन्धी तालिम

बिहिवार , आषाढ १२, २०८२

भैरहवा, १२ असार । रुपन्देहीको भैरहवामा बिहीबारदेखि तीन पालिकाका स्वास्थ्यकर्मीका लागि आई केयर, भिजन स्क्रनिङ एण्ड आई ईक्वीपमेन्ट ह्याण्डलिङ ट्रेनिङ (तालिम) सुरु भएको छ । तालिममा सियारी, ओमसतिया गाउँपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाका २८ जना स्वास्थ्यकर्मीको सहभागीता रहेको छ ।

रोटरी क्लब अफ रुद्रमति काठमाडौंको आयोजना, द रोटरी फाउण्डेशन, भिजन फोर द वल्र्ड, डीडी फाउण्डेशन, डट ग्लासेस र लुम्बिनी नेत्रालयको सहयोगमा तालिम सञ्चालन भएको हो ।

तालिमको उद्घाटन कार्यक्रममा सिनियर रोटेरियन लक्ष्मण ज्ञवालीले उपलब्धीमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले घरपरिवार भन्दा माथि उठेर समाजका लागि काम गर्नुपर्छ भन्ने उद्देश्यले रोटरीको स्थापना भएको बताउनुभयो । उहाँले नेपालमा १६० वटा रोटरी क्लब रहेको जानकारी दिनुभयो । 

त्यस्तै ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादवले आँखाको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले तालिममा धेरै भन्दा धेरै कुराहरु सिक्न  स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाअध्यक्ष मदन प्रसाद पोखरेलले आँखा संवेदनशील अंग भएकोले हेलचेक्रयाई गर्न नहुने बताउनुभयो । 

लुम्बिनी नेत्रालयका प्रबन्धक डा. हिरा शाहले सबै मिलेर अन्धोपन न्यूनीकरण गर्नुपर्ने बताउनुभयो । 

आँखा रोग विशेषज्ञ डा. विमल पौडेलले समयमै पहिचान हुन सके मानिसलाई अन्धोपनबाट बचाउन सकिने बताउनुभयो ।

रोटरी फाउण्डेशनका सल्लाहकार सुदीप कोइरालाले सिन्धुली र रुपन्देहीका ६ पालिकामा हाल यो तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशमा हाल आँखा रोग सम्बन्धी बिरामी धेरै भएको जानकारी दिनुभयो । तालिममा डा. विमल पौडेल, डा. राम के.सी., डा. हिरा शाहले सहजीकरण गर्नुभएको छ । 

IMG_8168.JPG

 स्थानीय समन्वयकर्ता अर्चित श्रेष्ठका अनुसार तालिम ३ दिनसम्म सञ्चालन हुनेछ ।