२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिरुपतिले जित्यो एसियन बुद्ध टी–१० क्रिकेटको उपाधि

शनिवार , आषाढ १४, २०८२

भैरहवा, १४ असार । रुपन्देहीको भैरहवामा सम्पन्न जिल्लास्तरीय ‘एसियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’ को उपाधि तिरुपति क्रिकेट क्लब, भैरहवाले हात पारेको छ । शुक्रबार सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न फाइनल खेलमा एसियन बुद्धलाई ३ विकेटले हराउँदै तिरुपतिले उपाधि चुमेको हो । उपाधिसँगै तिरुपतिले नगद ८० हजार र उपविजेता एसियन बुद्धले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको एसियन बुद्धले ८ विकेटको क्षतिमा ८५ रन बनायो । उसका लागि देव खनालले १९, कृष्ण कार्कीले १५ र रन्जित खड्काले १० रन बनाए ।
बलिङमा तिरुपतिका तुलबहादुर थापा, इन्द्रजित यादव र सन्दीप यादवले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको तिरुपतिले ९ ओभर ५ बलमा ८६ रन बनाउँदै जीत निकाल्यो । तिरुपतिका लागि सन्दीप मौर्यले २९, विशाल भुसालले नटआउट २५  र विजय प्रजापतिले १४ रन बनाए । बलिङमा एसियन बुद्धका विष्णु कटारियाले २, अभिशेष गौतम, कृष्ण कार्की, कृष्ण पराजुली र इकलाख अहमदले १–१ विकेट लिए । खेलमा सन्दीप मौर्य प्लेयर अफ द फाइनल भइ १ हजार २ सय रुपैयाँ पाए ।

तिरुपतिका वसिर अहमद म्यान अफ द सिरिज भइ नगद १२ हजार पाए । त्यस्तै टीम रेस्पोन्स लुम्बिनीका जावेद खान बेष्ट ब्याटर र न्यु होराइजनका विप्रसन केसी बेष्ट बलर भए । उनीहरुले जनही ८ हजार रुपैयाँ प्राप्त गरे । तिरुपतिका विजय प्रजापति बेष्ट क्याच र एसियनका देव खनाल सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बने । उनीहरुले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

शुक्रबारै सम्पन्न दोस्रो सेमीफाइनल खेलमा एसियन बुद्धले न्यू होराइजनलाई ३४ रनले पराजित गर्दै फाइलन यात्रा तय गरेको थियो । प्रतियोगितामा सेमीफाइनल पुगेका होराइजन र प्रोफेसनल मास्टर्स–११ ले १०–१० हजार रुपैयाँ पाए ।

प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजना र भैरहवाकै एशियन बुद्ध होटलको मुख्य प्रायोजनमा प्रतियोगिता सम्पन्न भएको हो । विजेता र उपविजेता टीमलाई लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेय, रुपन्देही क्रिकेट संघ तथा आयोजक संस्थाका अध्यक्ष हरि बहादुर थापा, एसियन बुद्ध होटलका सञ्चालक तिलकराज घिमिरे, प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थी, रुपन्देही क्रिकेट संघका निवर्तमान अध्यक्ष प्रशान्त विक्रम मल्ल लगायतले पुरस्कार प्रदान गरेका थिए । 

प्रतियोगिता अन्तर्गत पहिलो दिनको सम्पन्न खेलमा होलिडे टुर एण्ड ट्राभलका सञ्चालक एवं सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्माले घोषणा गरेअनुसार छक्का हान्ने खेलाडीलाई जनही १ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका छन् ।