
शनिवार , आषाढ १४, २०८२
बुटवल, १४ असार । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव मेटमणि चौधरीले पार्टी अध्यक्ष माधव कुमार नेपालमाथि विपक्षीहरुले षडयन्त्र गरेर मुद्दा चलाएकाले यसकाविरुद्ध डटेर सामना गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल लुम्बिनी र रुपन्देहीको संयुक्त भेलालाई शनिबार रुपन्देहीको तिलोत्तमामा सम्बोधन गर्दै उपमहासचिव चौधरीले यस्तो बताउनुभएको हो ।
उहाँले माधव नेपाल पनि केपी ओली र अन्य नेता जस्तै हो भन्ने जबरजस्ती स्थापित गर्न षडयन्त्रपूर्वक पतञ्जलीको विषयमा मुद्दा चलाएको बताउनुभयो । अख्तियार आफैले तामेलीमा राखिसकेको पतञ्जलीको विषयलाई प्रतिशोधकै कारण ब्यूत्याउने काम भएको उहाँको टिप्पणी छ । तत्कालिन समयमा नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माणका बेलामा बालुवाटार र ललिता निवासमा जोडेर बदनाम गराउन खोजेको स्मरण गर्दै अहिले जबरजस्ती माधव नेपालमाथि प्रहार गरिएको उहाँले बताउनुभयो ।
‘अख्तियारले तामेलीमा राखिसकेको, संविधानमा समेत नीतिगत निर्णयका विषयमा अख्तियारको क्षेत्राधिकारमै पर्दैन’ उहाँले भन्नुभयो–‘विपक्षीहरुले जबरजस्ती मुद्दा अगाडि बढाएका हुन् ।’ उहाँले विपक्षीहरुले पार्टी अध्यक्षमाथि प्रहार गरिरहदा पार्टीभित्रैबाट खिसिटयूरी गर्ने काम भएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले माधव कुमार नेपाललाई मुद्दा लगाउने काम ठीक मान्नेहरु विपक्षीको पाउमा पार्टी बुझाउन खोजेको टिप्पणी गर्नुभयो ।
‘यस्तो बेला डटेर मुकाविला गर्ने हो, नैतिकताको नाममा राजीनामा दिने र भाग्ने कुरा विल्कुलै ठीक हुँदैन’उहाँले भन्नुभयो–‘नबिराउनु नडराउनू, दुश्मनहरुसँग एकजुट भएर मुकाबिला गरौं ।’ उहाँले आफूहरु विद्रोहबाट स्थापित भएकाले पार्टीले ८४ को निर्वाचनसम्म आफूलाई बलियो बनाउने दावी गर्नुभयो । पूर्वमन्त्री समेत रहनुभएका चौधरीले दैशैभर युवाहरुको एकीकृत समाजवादीमा आर्कषण रहेको बताउनुभयो ।
पार्टीमा करेक्सन गरौं : रामकुमारी झाक्री
त्यस्तै कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले पार्टीमा करेक्सन गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टी अध्यक्षमाथि उठेको संवैधानिक र कानूनी समस्याबारे अर्ली महाधिवेशन गरेर समाधान गर्नुपर्ने मत राख्नुभयो ।
नेतृत्वमा एउटै व्यक्ति भइरहदा ‘मास फरेस्टेशन’ भएको समेत उहाँले बताउनुभयो । उहाँले अब पार्टीलाई करेक्सन गर्दै नजाने हो भने असन्तुष्टिहरु बढ्दै जाँदा अराजकहरुको हातमा राजनीति जान सक्ने संकेत गर्नुभयो । उहाँले पछिल्लो समय भएका राजनीतिक परिवर्तनले केही पनि गरेन भनेर भन्नलाई सजिलो भए पनि त्यसलाई चिर्ने गरी काम गर्ने पार्टी र नेता चाहिएको बताउनुभयो ।
पूर्वमन्त्री समेत रहनुभएकी झाक्रीले सत्तामा जाने र ओलर्न क्रम जारी रहेको बताउँदै अब जिम्मेवारी राजनीति आवश्यक रहेको बताउनुभयो । ‘आम रुपमा अराजकता छ, पुराना नेता र सिस्टमलाई गलत देखाएर पञ्चायतका प्रेतआत्माहरु जागेर व्यवस्थका विरुद्ध बोलेका छन्, अब सोच्नुपर्दैन’ उहाँले भन्नुभयो । उहाँले पुर्नउत्थानवादी शक्तिहरुले खुलेआम गणतन्त्रकाविरुद्ध बोल्ने अवस्था किन आयो भनेर दलहरु र राजनीतिज्ञहरुले करेक्सन गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले अब यी सबै कुराहरुबाट शिक्षा लिदै पार्टीलाई नयाँ ढंगले लैजाने संकल्प गर्नुपर्ने बेला आएको बताउनुभयो ।
कार्यक्रममा पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष अब्लुद हुसेन खान, पोलिटब्यूरो सदस्य तथा रुपन्देही इञ्चार्ज नन्दलाल बन्जाडे, रुपन्देही अध्यक्ष हिराध्वज शाह, लुम्बिनी महासचिव नारायण शर्मा लगायतले बोल्नुभएको थियो ।
भेलाका अवसरमा विभिन्न पार्टी परित्याग गरेकाहरुलाई उपमहासचिव चौधरीले स्वागत गर्नुभएको युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो । भेलाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij