
शनिवार , आषाढ १४, २०८२
बुटवल, १४ असार । नेपाल र चीनबीचको साँस्कृतिक सम्बन्धका विषयमा रुपन्देहीको बुटवलमा मन्थन गरिएको छ । जीवराज आश्रित फाउण्डेशन र वल्र्ड कन्फ्युसियस सेन्टरको आयोजना र न्यू होराईजन स्कूलको सह-आयोजनामा पूर्वीय दर्शनको विषयमा अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा वक्ताहरुले बुद्ध, कन्फ्युसियसले प्रतिपादन गरेका दर्शनबाट नेपाल र चीनबीचको साँस्कृतिक सम्बन्ध मजबुत भएको बताउनुभयो । चीनले ४० वर्षको अवधिमा अतुलनीय देश विकास गरेको भन्दै वक्ताहरुले नेपालले पनि त्यसबाट सिकाई गर्दै लाभ लिनुपर्नेमा जोड दिनुभयो । साँस्कृतिक पर्यटनबाट दुई देशलाई जोड्न सम्भव रहेकाले त्यसका लागि एकअर्काको भाषा संस्कृति र कलाको विषयमा ज्ञान हुनुपर्ने वक्ताहरुले बताउनुभयो ।
कार्यक्रममा वल्र्ड कन्फ्युसियसका अध्यक्ष छन् जीन युनले पूर्वीय दर्शनको प्रादुभाव गर्दै चीनले चार दशकमा अभूतपूर्व विकास गरेको बताउनुभयो । उहाँले चीनले छिमेकी मुलुक नेपालसँग भाषा र संस्कृति आदानप्रदान गरी आर्थिक विकासमा टेवा पुर्याउन विभिन्न कार्यहरु गर्दै आइरहेको बताउनुभयो । भाषाको सिकाईबाट हरेक क्षेत्रमा अवसरहरु सिर्जना हुने उहाँले बताउनुभयो ।
त्यस्तै वल्र्ड कन्फ्युसियसका उपाध्यक्ष ह हुईछिन र महासचिव तङ्ग होङ्ग मईले भाषा र शिक्षामार्फत पूर्विया संस्कृतिको विषयमा नयाँ पुस्तालाई ज्ञान दिनुपर्ने बताउनुभयो । जीवराज आश्रित फाउन्डेसनका अध्यक्ष डा. सागर न्यौपानेले बौद्ध दर्शनले नेपाल र चीनलाई मजबुत रुपमा जोडेको बताउँदै यस दर्शनको अध्ययन र अनुसन्धान पनि सँगसँगै लैजानुपर्ने बताउनुभयो । चीनले प्राप्त गरेको उपलब्धीको अनुशरण गर्दै नेपालमा पनि उत्पादनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । चिनियाँ संस्कृति विशाल रहेको भन्दै भाषा र संस्कृतिको माध्यमबाट नेपालले लाभ लिन सक्ने उहाँले बताउनुभयो । उहाँले चिनियाँ भाषा सिकाईले उच्च शिक्षाका लागि चीनमा ठूलो अवसर रहेको समेत बताउनुभयो ।
न्यू होराईजनका प्राचार्य लोकनाथ उपाध्यायले चीनको विकास मोडलबाट नेपालले धेरै विषय अनुसरण गर्नुपर्ने बताउनुभयो । लुम्बिनी वाङ्गमय प्रतिष्ठान लुम्बिनीका अध्यक्ष ऋषि आजादले नेपाल र चीनको सम्बन्ध बलियो हुँदा देशको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक दयानिधि गौतमले चीन र नेपालबीचको दार्शनिक सम्बन्धको विषयमा चर्चा गर्नुभयो ।
कार्यक्रममा जीवराज आश्रितका महासचिव बलबहादुर आचार्य, दीप बोर्डिङ्कका प्राचार्य टिकाराम न्यौपाने, लेखक रामचन्द्र श्रेष्ठ, डिलाराम खनाल लगायतले चीन–नेपाल संस्कृतिको विषयमा चर्चा गर्नुभयो । जीवराज आश्रित फाउण्डेशनले आयोजना गरेको पूर्विय सभ्यताको परिचर्चा कार्यक्रममा विभिन्न लेखक, कलाकार, राजनीतिज्ञ, प्राध्यापक लगायतको सहभागीता थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij