
आइतवार , आषाढ १५, २०८२
भैरहवा, १५ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ मा अवस्थित सगरमाथा टोल सुधार समितिको प्रथम अधिवेशन तथा दोस्रो साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ । समितिले अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै आगामी वर्षको कार्ययोजना तय गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर–७ का अध्यक्ष दामोदर शर्मा घिमिरेले स्थानीय सरकार गठनपछि जनसहभागीतासहितका संस्थाहरूको भूमिकाले विकासलाई गति दिएको बताउनुभयो । उहाँले वडाको समग्र विकासमा टोल सुधार समितिहरूको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै वडा नम्बर ७ मा हालसम्म तीनवटा टोल सुधार समिति गठन भएको जानकारी दिनुभयो । उहाँले स्थानीय तहको पुनःसंरचना भएपछि समाजको विकासमा स्थानीय स्वयंसेवी संस्थाहरूको सहकार्य आवश्यक देखेर टोल सुधार समितिहरू बनाएकोले समाजमा सानो–ठूलो समस्या समाधान गर्न सजिलो भएको बताउनुभयो ।
कार्यक्रममा निर्वाचन अधिकृत राजेन्द्र घिमिरेले नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुको नामावली घोषणा गर्नुभएको थियो ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा खेमनारायण लम्साल, उपाध्यक्षमा निशा (लक्ष्मी) भट्टराई, सचिवमा कमल पोख्रेल, सह–सचिवमा मुना आचार्य र कोषाध्यक्षमा ढकिसरा चौहान (सुशीला) निर्वाचित हुनुभएको छ। त्यसै गरी सदस्यहरूमा प्रतिभा शर्मा पौडेल, भरतकाजी के.सी., शिव अधिकारी, घनश्याम खत्री, मप्ना बेल्बासे र मधु अधिकारी निर्वाचित हुनुभएको छ ।
कार्यक्रमका अध्यक्ष विष्णु प्रसाद बेल्बासेले विगतको एक वर्षमा गरिएको सामाजिक, भौतिक पूर्वाधार विकास तथा जनसहभागिता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरूको विवरण प्रस्तुत गर्नुभयो । उहाँले टोलमा सरसफाइ, सार्वजनिक, साँस्कृतिक र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको बताउनुभयो ।
सचिव खेम लम्सालले गत वर्ष सञ्चालन गरिएका कार्यक्रमहरू, चुनौतीहरू र आगामी योजनाहरूको खाका प्रस्तुत गर्नुभयो । त्यस्तै कोषाध्यक्ष ढकिसरा चौहानले समितिको आर्थिक अवस्था, आय–व्यय विवरण प्रस्तुत गर्दै पारदर्शितामा जोड दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष खेमनारायण लम्सालले जिम्मेवारीको अनुभूति गर्दै टोल सुधार समिति एउटा सशक्त सामाजिक संगठनका रूपमा स्थापित गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय सरोकार, युवा सहभागिता र स्तरीय पूर्वाधार विकासमा समिति क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा टोलबासी, समाजसेवी, पत्रकार, महिला समूह, युवा क्लबका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij