
सोमवार , आषाढ १६, २०८२
बुटवल, १६ असार । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ स्थित जितेश्वरी टोल विकास संस्था र जितेश्वरी आमा समूहले आइतबार स्वामी, वर र पिपलसहितका विरुवाहरुको वृक्षारोपण तथा सरसफाई गरेको छ ।
राष्ट्रिय धान दिवसको अवसरमा पछिल्लो समय सडक क्षेत्रबाट विनाश हुँदै गएका वर, पिपल र स्वामीको संरक्षण गर्ने उदेश्यले टोल संस्थाको अगुवाइमा जितेश्वरी सामुदायिक वनको क्षेत्रमा वृक्षारोपण तथा सरसफाई गरिएको हो ।
जितेश्वरी माध्यमिक विद्यालय परिसर, महिला आमा समूहको भवन परिसरमा निम, कदम, गुलमोहर, अमला लगायतका विरुवाहरुको वृक्षारोपण गरिएको छ । त्यस्तै विद्यालयको उत्तरतर्फ भैरव मन्दिर जाने सडक छेउमा व्यवस्थित चौतारी बनाउने गरी वृक्षारोपण गरिएको छ ।
राष्ट्रिय धान दिवसमा रोपाई गर्नुपर्ने भए पनि आफूहरु वातावरण संरक्षणमा टेवा पुर्याउने उद्देश्यले वृक्षारोपणमा गरेको जितेश्वरी टोल विकास संस्थाका अध्यक्ष दशरथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय पछाडिको सामुदायिक वनमा लगाइएको वर, पिपल र स्वामीलाई भैरव मन्दिर जानेहरुले बिसौनी हुने गरी चौतारीका रुपमा विकास गरिनेछ । लगाइएका विरुवाहरुको टोल संस्थाले नै संरक्षण गर्ने उहाँको भनाई छ ।
विगतदेखि नै जितेश्वरी टोल संस्थाले रचनात्मक काम गर्दै आइरहेको भन्दै वृक्षारोपणले वातावरण संरक्षणमा ठूलो टेवा दिने निवर्तमान अध्यक्ष चिरन बरालले बताउनुभयो । बुटवल–१३ देवीनगरस्थित उद्यमी कृषि सहकारी संस्थाले समेत वृक्षारोपण कार्यक्रममा सहकार्य गरेको थियो ।
वृक्षारोपण कार्यक्रममा सामाजिक अगुवा किसन ज्ञवाली, जितेश्वरी आमा समूहका अध्यक्ष सीता कार्की, टोल संस्थाका उपाध्यक्ष नारायण प्रसाद थापा, सचिव ज्ञानबहादुर पुन, उद्यमी कृषि सहकारीका अध्यक्ष दलबहादुर लुहागुन लगायतको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij