२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नयाँ पुस्तालाई क्रान्तिको इतिहास बुझाउनुपर्छ : सुदर्शन बराल

सोमवार , आषाढ १६, २०८२

भैरहवा, १६ असार । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले नयाँ पुस्तालाई क्रान्तिको इतिहास बुझाउनुपर्ने बताउनुभएको छ । आइतबार शहीद रमेश यादवको २० औं स्मृति सभा तथा राष्ट्रिय धान दिवस कार्यक्रम बोल्दै नेता बरालले शहिद र अग्रजको सम्मान नहुने देश कहिल्यै अघि नबढ्ने भएकाले युवा पुरस्तालाई क्रान्तिको इतिहास बुझाउनुपर्ने बताउनुभयो ।

उहाँले दशवर्षे जनयुद्धको बलमा प्राप्त उपलब्धी सामान्य नभएको उल्लेख गर्दै योद्धाहरुले गरेको त्याग, तपस्या र बलिदानीको उच्च मूल्यांकन गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वमन्त्री समेत रहनुभएका बरालले राज्य सञ्चालकहरु शहीदले देखाएको मार्गमा हिड्न नसक्दा समाजमा असन्तुष्टिका स्वरहरु सुनिन थालेको बताउनुभयो । ‘शहीद रमेश यादवले देखेको सपना समाजमा न्याय, समानता र समावेशीताको स्थापनासँग जोडिएको थियो त्यो सपना अझै पूर्ण रूपमा साकार हुन बाँकी छ’ उहाँले भन्नुभयो ।

त्यस्तै माओवादी केन्द्र रुपन्देही इञ्जार्च तथा शहीद रमेश यादवको धर्मपत्नी सोनिया यादवले आफुले श्रीमानले देखाएको पदचाप पछ्याइरहेको बताउनुभयो । शहीद यादवले क्रान्तिलाई धोका दिन नमान्दा ज्यान गुमाउनुपरेको स्मरण गर्नुभयो । ‘उहाँले आफ्ना साथीहरुको बारेमा सेनालाई बताइदिएको भए बाच्नुहुन्थ्यो । तर, उहाँले क्रान्तिलाई धोका दिनुभन्दा सेनाको गोली खान तयार हुनुभयो’ उहाँले बताउनुभयो । 

माओवादी केन्द्र रुपन्देहीका संयोजक नारायण जि.सी. (निर्मल) ले जयुद्धका क्रममा होनाहार नेताहरु गुमाउनुपरेको स्मरण गर्नुभयो । शहीद भएका नेताहरुको अभाव अहिले खट्किरहने बताउँदै उहाँले शहीदको सपना पूरा गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उहाँले पार्टी सधै शहीद परिवारको साथमा रहेको बताए ।