
मंगलवार , आषाढ १७, २०८२
काठमाडौं, १७ असार । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालय पूर्णरूपमा प्रतिवद्ध रहेको बताउनुभएको छ ।
राष्ट्रिय सभाको मंगलवारको बैठकमा विनियोजित शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले कानूनको कार्यान्वयन, सुशासन र विधिको शासनलाई प्रभावकारी बनाउन गृह मन्त्रालय मातहतका निकायहरु सक्रिय रहेको बताउनुभएको हो । उहाँले सबै सुरक्षा निकाय न्युनतम स्रोत साधनमा सीमित भए पनि अपराध नियन्त्रण, अनुसन्धान तथा अभियोजनका कार्यमा दत्तचित्त भएर लागिरहेको बताउनु भयो ।
लेखकले अगामी आर्थिक वर्षका लागि बजेटमा दुवै सुरक्षा निकायको पूर्वाधार विकासका ४० करोड रुपैयाँ विनियोजन गरिएको समेत बताउनु भयो । संघ, प्रदेश र स्थानीय तहको आपसी सहकार्यमा सुरक्षा निकायका भौतिक पूर्वाधार विकास गर्न साझेदारीमा काम गर्ने योजना अघि बढाएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘मुलुकमा शान्ती सुरक्षा कायम गर्ने, विधिको शासन स्थापित गर्ने, सुशासनको सुनिश्चितता गर्ने र संविधान र कानूनको कार्यान्वयन गर्ने गृह मन्त्रालयको दायित्व हो । मुलुकमा रहेका सबै सुरक्षा निकायहरु मुलुकमा शान्ती सुरक्षा कायम गर्नका लागि, अपराध नियन्त्रण गर्नका लागि, अनुन्धान र अभियोजनमा सहयोग गर्नका लागि र कानूनको कार्यान्वयनका निमित्त दत्तचित्त भएर काम गरिराखेका छन् । दुवै सुरक्षा निकायहरु न्युनतम स्रोत र साधनमा काम गरिराखेका छन् ।
हामी अगामी आर्थिक वर्षको बजेटमा पनि बजेटको सीमाभित्र रहेर दुवै सुरक्षा निकायका पूर्वाधार विकासका लागि प्रश्ताव गरेका छौँ । तीनवटै तहको लागत साझेदारीमा पूर्वाधार निर्माण गर्नेगरी ४० करोड रुपैयाँ समेत विनियोजन गरिएको छ । या पल्ट एउटा नयाँ नीति हामीले अवलम्वन गरेका छौँ । तीनवटै तहका सरकारहरुको आपसि सहकार्यमा भौतिक पूर्वाधारको विकास गर्न सकिन्छ कि भनेर हामीले साँझेदारीमा काम गर्ने योजना अगाडि सारेका छौँ । यो हाम्रो पहिलो अभ्यास पनि हो ।’
उहाँले प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयकहरु छलफलका क्रममा रहेको उल्लेख गर्दै ती विधेयकहरु पास भइसकेपछि सुरक्षा निकायहरुलाई थप व्यवस्थित गर्न सकिने विश्वास समेत व्यक्त गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij