
बुधवार , आषाढ १८, २०८२
काठमाडौं, १८ असार । मंगलवार गाजा पट्टीमा इजरायली आक्रमणबाट ४५ प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक रक्षा विभागले जनाएको छ ।
इजरायली सेनाले विगत २४ घण्टामा तटीय क्षेत्रका १ सय ४० वटा निशानामा आक्रमण गरेको घोषणा गरेको छ । गाजामा नागरिक रक्षा विभागका प्रवक्ता महमूद बसालले बताएअनुसार इजरायली ड्रोनले उत्तरी गाजा पट्टीको जबालिया क्षेत्रमा प्यालेस्टिनीहरूको भेलालाई लक्षित गरी पाँच जनाको मृत्यु भएको छ ।
बसालकाअनुसार पूर्वी गाजा शहरको अल–तुफाह छिमेकमा रहेको घर र दक्षिणमा अल–जैटुन छिमेकमा प्यालेस्टिनीहरूको भेलालाई लक्षित गरी इजरायली ड्रोनहरूले गरेको दुई हवाई आक्रमणमा अन्य पाँच जनाको मृत्यु भएको छ । दक्षिणी गाजा पट्टीको खान युनिसमा बसालले शहरका विभिन्न भागहरूमा विस्थापित व्यक्तिहरूलाई बसोवास गर्ने आवासीय घरहरू र पालहरूलाई लक्षित गरी इजरायली आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु भएको बताउनु भयो ।
साथै मध्य गाजा पट्टीको मगाजी शरणार्थी शिविरमा विस्थापितहरूलाई बसोबास गर्ने विद्यालयलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु भएको छ । इजरायली सेनाले मंगलवार घोषणा ग¥यो कि वायुसेनाले विगत २४ घण्टामा गाजा पट्टीमा १ सय ४० भन्दा बढी निशानाहरूमा आक्रमण गरेको छ ।
मार्च १८ मा इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको हो । इजरायलले आफ्नो तिब्र आक्रमणहरू पुनः शुरु गरेदेखि कम्तीमा ६ हजार ३ सय १५ प्यालेस्टिनीहरू मारिएका छन् । २२ हजार ६४ जना घाइते भएका छन् । अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५६ हजार ६ सय ४७ पुगेको छ । घाइतेहरूको संख्या १ लाख ३४ हजार १०५ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij