
शुक्रवार , आषाढ २०, २०८२
काठमाडौं, २० असार । लिभरपुलका पोर्चुगिज अन्तर्राष्ट्रिय फरवार्ड डियोगो जोटा र उनका भाइ आन्द्रेको बिहीवार बिहान उत्तर–पूर्वी स्पेनमा कार दुर्घटनामा मृत्यु भएको स्पेनी अधिकारीहरूले बताएका छन् ।
पोर्चुगलको छेउमा रहेको जामोरा प्रान्तको क्षेत्रीय सरकारी प्रतिनिधिमण्डलले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै पलासियोस डे सानाब्रियाको ए ५२ रोडमा भएको दुर्घटनामा दुई युवाको मृत्यु भएको जानकारी दिएको छ। साथै अग्नि नियन्त्रक टोली दुर्घटनास्थलमा रहेको र गाडीमा आगो लागेको र आगो वरपरका क्षेत्रमा फैलिएको बताएको छ ।
दुर्घटनाको कारण अझै अज्ञात छ । तर प्रारम्भिक अनुमानअनुसार दाजुभाइहरू यात्रा गरिरहेको ल्याम्बोर्गिनी स्पोट्र्स कारको टायर फुटेको थियो । जसले गर्दा यो सडकबाट खसेर आगो लागेको थियो । जोटाले आफ्नो लामो समयदेखिको प्रेमी रुट कार्डोसोसँग १० दिनअघि जुन २२ मा विवाह गरेका थिए । यो जोडीका तीन साना सन्तान छन् ।
२०२० मा वोल्भरह्याम्प्टन वान्डरर्सबाट लिभरपुलमा सामेल भएका २८ वर्षीय खेलाडीले प्रिमियर लिग च्याम्पियनका लागि १८२ खेलमा ६५ गोल गरेका छन् । उनले पोर्चुगलका लागि ४९ खेलमा १४ गोल पनि गरेका छन् । उनका २६ वर्षीय भाइ पनि एक पेशेवर फुटबलर थिए । जसले पोर्चुगिज दोस्रो डिभिजनको टोली पेनाफिलबाट खेलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij