
शुक्रवार , आषाढ २०, २०८२
काठमाडौं, २० असार । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले कानूनहरु फास्ट ट्रयाकमै बनाउनुपर्ने बताउनुभएको छ ।
शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदमा विधेयक ल्याउने प्रतिवद्धता गरेका विधेयकहरु चालु अधिवेशनबाटै पारित गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले पास हुन नसकेका र महत्वपूर्ण रहेका विधेयकहरु अध्यादेशमार्फत ल्याउनुपर्ने माग गर्नुभयो । वर्षौंसम्म कानून विहीन ढंगले मुलुकलाई वन्धक बनाउन नसकिने र नमिल्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कानूनहरु सबै फास्ट ट्रयाकमै बनाऔँ भन्ने मान्छे हो । संसदमा बोल्दा पनि मैले भनेको छु, जति पनि विधेयक ल्याउँछौँ भनेका छौँ, त्यो नीति कार्यक्रम, बजेट, अन्यत्र त्यो यही अधिवेशनमा पास गरौँ भन्ने हो । केही गरी यही अधिवेशनमा पास हुन नसके र महत्वपूर्ण छ भने अध्यादेबाट ल्याएर पनि काम अघि बढाउनुपर्छ । वर्षौंसम्म कानून विहीन ढंगले मुलुकलाई वन्धक बनाउन सकिँदैन, मिल्दैन ।’
सांसद आचार्यले कानून पूर्ण रुपमा राम्रो बनाउनुपर्ने बताउनु भयो । छिटो गर्ने नाममा छलफल नै नगरी लैजान नमिल्ने बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij