
शुक्रवार , चैत्र २०, २०७७
भैरहवा, २० चैत ।
६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ओमसतिया–१, रुपन्देहीले वृक्षारोपण कार्यक्रम गरेको छ । संस्थाले सिद्धार्थ राजमार्गको अन्तर्गत ओमसतिया–१ कटैयास्थित सडकमा वृक्षारोपण गरेको हो ।
वातावरण संरक्षण गर्ने उद्देश्यले शुक्रबार सिद्धार्थ राजमार्गको बीच भागमा योजना शुभारम्भ स्वरुप फूल रोपेर उद्घाटन गरिएको संस्थाका अध्यक्ष डि.बि. थापाले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट ‘राहुल’ ले प्रदुषणका कारण जनजीवन प्रभावित भइरहेको बेला टुगा साकोसले वृक्षारोपण गर्नु प्रशंसनीय भएको बताए । उनले वातावरणको संरक्षण गर्ने उद्देश्यले आयोजना हुने यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । समाज परिवर्तनको लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
ओमसतिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बेल बहादुर बराल मगरले वृक्षारोपण गरेर मात्र नहुने भएकोले रोपिएका विरुवाहरुको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए ।
संस्थाका अध्यक्ष डि.बि. थापाले गाउँपालिकाले संस्थासंग सहकार्य गर्दै जाने कुरा सकारात्मक भएको बताए । उनले सहकारीको सिद्धान्त अनुसार सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिदै जाने बताए ।
संस्थाका उपाध्यक्ष परसुराम बाँस्तोलाको स्वागत तथा मुख्य प्रबन्धक लक्ष्मण कुमार थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । करिब २ सय वटा विरुवा रोप्ने योजना रहेको सहकारीका सञ्चालक समिति सदस्य गोकुल पोखरेलले जानकारी दिए ।
‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ आज देशभरी ६४ औं राष्ट्रिय सहकारी दिवस मनाइँदैछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij