२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

लुम्बिनी होटल संघद्वारा मानवसेवा आश्रममा भोजनदान कार्यक्रम

शुक्रवार , आषाढ २०, २०८२

भैरहवा, २० असार । लुम्बिनी होटल संघ नेपालले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित मानवसेवा आश्रममा भोजनदान कार्यक्रम गरेको छ । संघको सातौं स्थापना दिवसको अवसरमा शुक्रबार आश्रममा कार्यक्रम गरिएको महासचिव पुरुषोत्तम अर्यालले बताउनुभयो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष गोविन्द ज्ञवालीले स्थापना दिवस मानवसेवा आश्रममा मनाउन पाउँदा अत्यन्तै हर्षित भएको बताउनुभयो । उहाँले समाजमा केही गर्नुपर्छ भन्ने हेतुले आश्रममा कार्यक्रम गरिएको बताउनुभयो । व्यवसायीले नाफा कमाउने मात्र नभइ नाफाको केही प्रतिशत समाजसेवामा खर्च गर्नुपर्ने उहाँको भनाइ थियो ।

संघका वरिष्ठ उपाध्यक्ष लिलामणि शर्माले मानवसेवा आश्रमको स्वच्छ वातावरण हेरेर खुसी लागेको बताउनुभयो । उहाँले यो आश्रममा थप सहयोगका लागि विदेशी संघ–संस्थासँग पहल गर्ने बताउनुभयो । ‘पवित्र ठाउँमा पुगेर केही कार्यक्रम गरौं भनेर आएका हौं, यहाँ आश्रय लिनुभएका व्यक्तिहरुलाई बिहानको एक छाक खाना खुवाएका छौं । विभिन्न संघ–संस्थाहरुले आफ्नो स्थापना दिवस मानवसेवा आश्रममा मनाउन सक्छन्, ’उहाँले भन्नुभयो । 

मानवसेवा आश्रमको लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले हाल आश्रममा १४० जना रहेको जानकारी दिनुभयो । उहाँले २०६९ साल भदौ १६ गते हेटौंडाबाट मानव सेवा आश्रम स्थापना भएको बताउनुभयो । उहाँले कोही पनि खाना र कपडाबाट वञ्चित भइ कष्टकर जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले मानवसेवा आश्रमको स्थापना भएको बताउनुभयो । सबै मिलेर सडक मानवमुक्त नेपाल बनाउने अभियानमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

IMG_8812.JPG

कार्यक्रममा लुम्बिनी होटल संघका पदाधिकारी, सदस्यहरु लगायतको उपस्थिति थियो ।

IMG_8835.JPG

IMG_8859.JPG