२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

मारवाडी महिला मञ्च–भैरहवाद्वारा कुर्सी हस्तान्तरण तथा पौष्टिक आहार वितरण

शनिवार , आषाढ २१, २०८२

भैरहवा, २१ असार । मारवाडी महिला मञ्च–भैरहवाले कुर्सी हस्तान्तरण तथा पौष्टिक आहार वितरण कार्यक्रम गरेको छ । शुक्रबार भैरहवास्थित भीम अस्पतालको प्रसुती गृहलाई कुर्सी हस्तान्तरण गर्नुका साथै पौष्टिक आहार वितरण गरिएको मञ्चकी अध्यक्ष अमिता अग्रवालले बताउनुभयो । उहाँले अस्पतालमा यस्तो कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले नेपालको विकासमा मारवाडी समुदायको भूमिका महत्वपूर्ण बताउनुभयो । उहाँले अस्पतालमा कुर्सीको आवश्यकता रहेको जानकारी पाएपछि मारवाडी महिला मञ्च–भैरहवाले कुर्सीसँगै बिरामीलाई पौष्टिक आहार वितरण गरेको बताउनुभयो । उहाँले यस्ता सामाजिक कार्य अगाडि बढाउनु सराहनीय रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्मा, समाजसेवी नारायण प्रसाद अग्रवालले मारवाडी महिला मञ्च–भैरहवाले धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

कार्यक्रम संयोजक एवं मञ्चकी सचिव सलोनी गर्गको स्वागत तथा विजय पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा १२ सेट (३६ थान) कुर्सी र ४० जनालाई पौष्टिक आहार वितरण गरिएको कार्यक्रम संयोजक किर्ती अग्रवालले जानकारी दिनुभयो । 

कार्यक्रममा भीम अस्पताल प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ता, मारवाडी सेवा संघ भैरहवाका पूर्वअध्यक्ष हेमन्त अग्रवाल, उपाध्यक्ष अरुण कुमार अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका अध्यक्ष मनोज अग्रवाल लगायतको आतिथ्यता रहेको थियो ।