
आइतवार , आषाढ २२, २०८२
अर्घाखाँची, २२ असार । नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीका सचिव तेजबहादुर रायमाझी (विधान) की आमा भिमकुमारी रायमाझीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्न शनिबार अर्घाखाँचीमा शोकसभा आयोजना गरिएको छ ।
एमाले जिल्ला कमिटी र सन्धिखर्क नगर कमिटीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्यले दिवंगत भिमकुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानको उच्च प्रशंसा गर्नुभयो । मुख्यमन्त्री आचार्यले भिमकुमारी रायमाझीले एक अभिभावकको नाताले पार्टी निर्माण, संगठन विस्तार र जनसेवामा अतुलनीय योगदान गर्नुभएको स्मरण गर्नुभयो । ‘उहाँले उत्पीडित जनताको सेवामा विभिन्न ढंगले योगदान गर्नुभयो । सिंगो अर्घाखाँची जिल्लामा एमालेको आधार बलियो बनाउन उहाँको भूमिका महत्त्वपूर्ण रह्यो’आचार्यले भन्नुभयो–‘उहाँको योगदान अतुलनीय छ । यसको हामी सधैं स्मरण गर्नेछौं ।’
मुख्यमन्त्री आचार्यले भिमकुमारी रायमाझीलाई असल, इमानदार र समर्पित अभिभावकको रूपमा स्मरण गर्नुभयो । ‘जन्मसँगै मृत्यु पनि सँगै आउँछ । अल्पायुमा भएको उहाँको निधनले हामी सबै स्तब्ध भएका छौं । हामीले एक सच्चा अभिभावक गुमाएका छौं । पार्टीले एक असल आधार गुमाएको छ,’उहाँले भन्नुभयो।
६६ वर्षको उमेरमा असार १६ गते उहाँको निधन भएको हो । श्रद्धाञ्जली सभामा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्री, जनार्जन खनाल, जिल्ला अध्यक्ष पिताम्बर भुसाल लगायत नेताहरूको उपस्थिति थियो । कार्यक्रममार्फत सहभागीहरूले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै रायमाझी परिवारप्रति गहिरो समवेदना प्रकट गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij