२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँ : सांसद सिंह

आइतवार , आषाढ २२, २०८२

काठमाडौं, २२ असार । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने बताउनुभएको छ ।

आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमँ लगानी गर्न उचित नरहेको बताउनु भयो । उहाँले जनसंख्याका आधारमा भौतिक पूर्वाधारहरुको निर्माण गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलहरु बनेको तर प्रयोगमा आउन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको भन्दै अनुसन्धानको माग गर्नुभयो । भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मधेस प्रदेशमा त्यत्रो जनसंख्या छ तर त्यहाँ एयरपोर्ट छैन । भैरहवामा छ, एउटै प्रदेशमा दुई वटा बनेका छन् । तर प्रयोग हुन सकेको छैन । भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको छ । विमानस्थलहरुलाई अलिकति सही ढंगले सदुपयोग हुने बनाउनुपर्छ । विदेशीको ऋण लिन्छौँ भने त्यसबाट इन्कम हुनुप¥यो नि । ऋण भ्रष्टाचार गर्नका लागि मात्रै लिने परिपाटी छ, त्यसमा समितिमार्फत ध्यानाकर्षण गराउँछु । जहाँ धेरै जनता छन् त्यही संरचनाहरु निर्माण गर्नुपर्छ । आम्दानी नहुने ठाउँमा लगानी नगरौँ ।’

सांसद सिंहले नागरिक धेरै भएको ठाउँमा नै संरचनाहरु बढी बनाउँदा प्रयोग बढी हुने जिकिर गर्नुभयो ।