
आइतवार , आषाढ २२, २०८२
काठमाडौं, २२ असार । नेकपा एमाले सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन र सहमतिअनुसार नै पार्टीमा अघि बढ्ने बताउनुभएको छ ।
आईतवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेको आन्तरिक जीवनको बारेमा धेरै प्रश्न गरिएको भन्दै पार्टी अध्यक्ष ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमा अन्तरविरोध बढिरहेको भ्रम फिँजाउन खोजिए पनि सत्य नरहेको बताउनु भयो ।
कार्यकर्ताहरु कित्ताकाट भएका छन् भन्नेकुरा भ्रम मात्रै भएको बताउनु भयो । भण्डारी सक्रिय राजनीतिमा आउँदा पनि अध्यक्ष ओलीकै सहमति र प्रश्तावमा आउने दाबी गर्नुभयो । संविधानले पूर्वराष्ट्रपतिहरु सक्रिय राजनीतिमा आउनु हुँदैन नभनेको र पार्टीको विधानले पनि कुनै बन्देज नगरेको बताउनु भयो ।
भण्डारी सक्रिय राजनीतिमा आउनेबारे सचिवालयमा पनि छलफल भएको र संविधानले बन्देज नलगाएको कुरामा पार्टीले सकारात्मक रुपमा नै लिएको बताउनु भयो । पार्टीको सदस्यता नविकरण गरेर भण्डारीले पार्टीमा कुनै अन्तरविरोध सिर्जना नगर्नुभएको बरु केही पार्टीकै नेताहरुले अन्तरविरोध सिर्जना गर्ने काम गरेको बताउनु भयो । पूर्वराष्ट्रपतिलाई विवादमा ल्याउने काम राम्रो नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेकपा एमालेको आन्तरिक जीवनका बारेमा कुरा आयो । नेकपा एमालेभित्र देशका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीजी जब सक्रिय राजनीतिमा आउने भन्नुभयो । उहाँले अहिलेसम्म रिन्यु मात्रै गर्नुभएको छ । तर कसरी अघि बढ्ने केही कुरा गर्नुभएको छैन । तर अहिले जुन प्रकारले बजार हल्ला छ, अब पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमा अन्तरविरोध बढिरहेको छ, कार्यकर्ताहरु कित्ताकाट गरिरहेको छ ।
दिनहुँ मिडियामा कित्ताकाटका समाचारहरु आइरहेका छन् । त्यसमा कुनैपनि सत्यता छैन । हामीमा कुनै अन्तरविरोध छैन । यदी उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै सहमति र प्रश्तावमा उहाँ आउनुहुन्छ । स्वभाविक छ, पहिला पार्टीको वरिष्ठ नेतृ हुनुहुन्थ्यो । हाम्रो संविधानले पूर्वराष्ट्रपतिहरु सक्रिय राजनीतिमा आउनु हुँदैन,त्यस्तो कुनै बन्देज गरेको छैन । न त हाम्रो पार्टीको विधानले बन्देज गरेको छ । हाम्रो सचिवालयमा पनि यसमा छलफल भएकै हो ।
यदी उहाँ सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भने हामीले किन रोक्ने ? किनकी संविधान र विधानले त रोक्ने अधिकार दिएकै छैन । कुनै दफा, उपदफा छैन की । उहाँहरुको व्यक्तिगत विषय हो । उहाँले राजनीति गर्छु भनेर पार्टी सदस्यता रिन्यु गर्नुभएको छ । तर उहाँले पार्टीभित्र अन्तरविरोध बढाउने काम गर्नुभएको छैन ।
हाम्रा पार्टीका एक दुई जना साथीहरुले अन्तरविरोध बढाउने काम गरिरहनुभएको छ । त्यो पनि राम्रो होइन ।पूर्वराष्ट्रपतिलाई जुन प्रकारले विवादमा ल्याउन खोजिरहनुभएको छ, त्यो पनि राम्रो कुरा होइन ।’ सचिव महासेठले आफू कुनै कित्तामा नभइ पार्टीको कित्तामा रहेको बताउनु भयो ।
एमालेभित्र अन्तरविरोध बढाउने काम नगर्न पनि सचेत गराउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij