
आइतवार , आषाढ २२, २०८२
भैरहवा, २२ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ९ नम्बर वडा कार्यालयले लुम्बिनी क्योकुशिन कराते–डो संघलाई खेलकुद सामग्री वितरण गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक बजेट अन्तर्गत संघलाई आइतबार उक्त सामग्री वितरण गरिएको हो ।
खेलाडीको न्यूनतम आवश्यकता पूर्ति गर्ने उद्देश्यले किकप्याड, बक्सिङ ग्लोब, पञ्चिङ प्याड लगायत कराते खेलमा प्रयोग हुने सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
खेलकुद सामग्री वितरण कार्यक्रममा बोल्दै वडाअध्यक्ष शेषकान्त भण्डारीले सामग्री वितरण कार्यक्रम वार्षिक कार्ययोजनामा रहे पनि कुन सामग्री वितरण गर्दा कति महत्व हुन्छ भन्ने कुरा बुझ्न जरुरी रहेको बताउनुभयो । उहाँले सामग्रीले खेलाडीहरुको रुची बढ्ने विश्वास व्यक्त गर्नुभयो । खेलाडी र युवाहरुलाई लागूऔषध दुव्र्यसनबाट बचाउन खेलकुद महत्वपूर्ण रहेको वडाअध्यक्ष भण्डारीको भनाइ थियो ।
त्यस्तै वडा सचिव अब्दुल रसिद पठानले खेलमार्फत युवाहरुलाई कुलतबाट जोगाउन सकिने र खेलाडीमार्फत देशलाई विश्वभर चिनाउन सकिने बताउनुभयो । उहाँले यही कुरालाई मध्यनजर गर्दै खेलाडीलाई खेलकुद सामग्री वितरण गरिएको बताउनुभयो ।
लुम्बिनी क्योकुशिन कराते–डो संघका अध्यक्ष तथा करातेका मुख्य प्रशिक्षक करुणा निधि त्रिपाठीको अध्यक्षता तथा वडाअध्यक्ष शेषकान्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु, संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन संघका सचिव कृष्ण वर्नवालले गर्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij