२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

विन्ध्यवासिनी मन्दिरमा बालकृष्ण बस्याल

आइतवार , आषाढ २२, २०८२

भैरहवा, २२ असार । विन्ध्यवासिनी मन्दिर विन्ध्यवासिनी धाम तिलोत्तमा नगरपालिका–६ परसहवा रुपन्देहीको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले बालकृष्ण बस्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा पिताम्बर चापागाई, सचिवमा मोहन गैरे, कोषाध्यक्ष लोकनाथ अर्याल, सह–सचिवमा पशुपति बस्याल रहनुभएको छ ।

त्यसै गरी सदस्यहरुमा लालीदेवी बस्याल, सीता बस्याल, दममाया गाहा, शिव कोइराला, हुम प्रसाद बस्याल, रमेश तिमिल्सिना, शोभा खाती, प्रेम नारायण बस्याल र जीवलाल बस्याल चयन हुनुभएको छ ।

मन्दिर सञ्चालक समितिका अध्यक्ष खिमलाल कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले धामलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले मन्दिर तथा धामको विकासका लागि ५० हजारको चेक कार्यक्रममा हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा धामका सल्लाहकार तथा दानवीर दामोदर कोइराला, जानकी देवी कोइराला, जीवन लाल बस्याल लगायतलाई सम्मान–पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा विन्ध्यवासिनी मन्दिर धामको संक्षिप्त परिचय नामको पुस्तक विमोचन पनि गरिएको थियो । 

कार्यक्रममा अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष लोकनाथ अर्यालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सभाले पारित गरेको थियो । कार्यक्रममा वडा नम्बर १६ का अध्यक्ष झविलाल भुषाल, डा.दामोदर ढकाल, बस्याल समाजका केन्द्रिय अध्यक्ष रामप्रसाद बस्याल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन मन्दिरका उपाध्यक्ष लिला बल्लभ गैरेले गर्नुभएको थियो ।