२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

एन्फा यु–१६ युथ लिगमा संकटा र मच्छिन्द्रको फराकिलो जित

आइतवार , आषाढ २२, २०८२

काठमाडौं, २२ असार । संकटा र मच्छिन्द्र क्लवले एन्फा यु–१६ युथ लिगमा फराकिलो जितबाट शुरूवात गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतवार भएको खेलमा संकटाले जाउलाखेल युथ क्लवमाथि ५–० को फराकिलो जित निकालेको छ । संकटाको जितमा पेम्बा तमाङले दुई गोल तथा प्रजलकुमार लुम्रे, सुमित बलम्पाकी र करण भुलले समान एक गोल गरे । दिनको दोस्रो खेलमा मच्छिन्द्रले एपिएफमाथि ४–१ को सहज जित निकालेको हो । मच्छिन्द्रका लागि सुमन बम ठकुरी र विकास थापाले समान दुई गोल गरे । एपिएफका लागि पूजन ढकालले सान्त्वना गोल फर्काएका थिए ।

संकटाले पहिलो हाफमा नै तीन गोल गर्दै जावलाखेलमाथि पूर्ण हाबी भयो । खेलको १५औं मिनेटमा करणले गोल गर्दै अग्रता दिलाए । २४औं मिनेटमा सुमितले संकटाका लागि दोस्रो गोल गरे  । ३२ औं मिनेटमा प्रजलकुमारले गोल गरेपछि संकटा पहिलो हाफमा ३–० ले अगाडि रह्यो । पेम्बाले ६०औं र ६६औं मिनेटमा व्यक्तिगत दुई गोल गरेपछि संकटाले फराकिलो जितसककंगै युथ लिगको शुरुवात ग¥यो । 

दोस्रो खेलमा मच्छिन्द्र एपिएफमाथि पूर्ण हाबी हुँदा दुई खेलाडी विकास र सुमन चम्किए । खेलको चौथो मिनेटमा नै विकासले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि सुमनले २८औं मिनेट र ३२औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई ३–० ले अग्रता दिलाए । दोस्रो हाफमा दुवै तर्फबाट समान एक गोल भयो । ५४औं मिनेटमा पूजन ढकालले गोल गर्दै अग्रता छोट्याउने प्रयास गरे । तर, इन्जुरी समयमा विकासले व्यक्तिगत दोस्रो गोल थप्दै मच्छिन्द्रलाई ४–१ को सहज जित दिलाए ।

यसअघि प्लानिङ ब्वाइज, आर्मी र मनाङ  मस्र्याङ्दीले यु–१६ युथ लिगको तेस्रोमा जित निकालिसकेका छन् । युथ लिगमा शीर्ष डिभिजनका कुल १४ क्लवले प्रतिष्पर्धा गरिरहेका छन् । यसै वर्ष मात्र ‘बी’ डिभिजन लिगबाट शीर्ष डिभिजनमा उक्लिएका दुई क्लव प्लानिङ ब्वाइज र श्रीभगवतीका साथै सशस्त्र प्रहरी बल एपिएफ, त्रिभूवन आर्मी क्लव, संकटा, नेपाल पुलिस, फ्रेण्ड्स, चर्च ब्वाइज, मच्छिन्द्र, जावलाखेल युथ, सातदोबाटो युथ, हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दीले यु–१६ युथ लिग खेल्दैछन् । लिगको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन् ।

विधागत उत्कृष्टअन्तर्गत मस्ट भ्यालुएबल प्लेयर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र फेयरप्लेले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । कुल ९१ वटा खेल हुने यस युथ लिग आगामी साउन २६ गतेसम्म सञ्चालन हुनेछन् ।