२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

प्रधानमन्त्रीको भ्रमणबारे सांसद गौतमको भनाइ संसदको रेकर्डबाट हटाउन सचेतक बर्तौलाको माग

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं, २४ असार । नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर संसदमा भ्रमपूर्ण कुरा गरिएको भन्दै संसदको रेकर्डबाट हटाउन सभामुखसँग आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा प्रमुख सचेतक बर्तौलाले स्पेन भ्रमणमा प्रधानमन्त्रीसँग गएका मानिसहरु उतै बसेको भन्दै सांसदहरुले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको हो । संसदको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सपेन भ्रमणमा गएका केही मानिसहरु नफर्किएको समाचारहरुमा आइरहेको भन्दै सदनमा ध्यानाकर्षण गराउनुभएको थियो । सोही कुरालाई लिएर मुख्य सचेतक बर्तौलाले भ्रामक, तथ्यहिन र आपत्तिजनक विषयहरु संसदमा राख्न नहुने र प्रमाणित गरेर देखाउन चुनौति दिनुभयो । उहाँले उक्त कुरा संसदको रेकर्डबाट हटाउन समेत माग गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘केही माननीयज्युहरुले असाध्यै भ्रामक, तथ्यहिन र आपत्तिजनक विषयहरु संसदमा राख्नुभएको छ । बोल्न पाउने अधिकारलाई माननीय सदस्यहरुले दुरुपयोग गर्दै सम्माननीय प्रधानमन्त्रीज्यु स्पेनको अन्तर्राष्ट्रिय स्तरको संयुक्त राष्ट्रसंघ संवद्ध कार्यक्रममा सहभागी भएर फर्किसक्नुभयो । उहाँ स्पेनको कार्यक्रममा सहभागी हुँदै गर्दा केही मानिसहरु स्पेनमै बसेका छन्, वा भिजिट भिसामा गएर फर्किएका छैनन् भनेर सम्माननीय प्रधानमन्त्री लक्षित अभिव्यक्तिहरु यस गरिमामय संसदमार्फत अभिव्यक्त हुने काम भयो ।

यि विषय असाध्यै निराधार, भ्रामक, कपोलकल्पित र यस्तो गरिमामय संसदमार्फत जिम्मेवार सांसदहरुबाट यस्तो तथ्यहिन कुराहरु गर्नेकुरा आफैँमा बेठिक छ । यस्ता तथ्यहिन र भ्रमपूर्ण विषयहरुलाई संसदको रेकर्डबाट हटाइनुपर्छ । को मानिसहरु प्रधानमन्त्रीसँग साथमा गएर फर्किएनन् ति बोल्ने माननीयज्युहरुले यो संसदमार्फत संसदलाई जानकारी गराइनुपर्छ । म यसको चुनौति दिन चाहन्छु ।’
प्रमुख सचेतक बर्तौलाले बोल्न पाउने अधिकारको दुरुपयोग नगर्न पनि चेतावनी दिनुभयो ।