
बिहिवार , आषाढ २६, २०८२
काठमाडौं, २६ असार । बुधवार गाजा पट्टीमा इजरायली आक्रमणबाट ३३ प्यालेस्टिनीहरूको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् ।
इजरायली सेनाले गाजा पट्टीभर १ सय भन्दा बढी क्षेत्रहरुमा प्रहार गरेको बताएको छ । गाजास्थित नागरिक रक्षा प्राधिकरणका प्रवक्ता महमुद बसालले बताएअनुसार इजरायली युद्धविमान र ड्रोनहरूले बिहान सबेरैदेखि गाजापट्टीका विभिन्न क्षेत्रहरूमा दर्जनौं आक्रमण गरेका छन् । जसमा विस्थापित व्यक्तिहरू बस्ने आवासीय घरहरू र पालहरू लक्षित गरिएका छन् ।
बसालले इजरायली विमानले गाजा शहरको पश्चिममा रहेको अल–शाती शरणार्थी शिविरमा रहेको जौदा परिवारको घरलाई लक्षित गर्दा दुई बालबालिकासहित १० जनाको मृत्यु भएको बताउनु भयो । करिव ३० जना घाइते भएका छन् र शहरमा पनि ताल अल–हवा छिमेकमा प्यालेस्टिनीहरूको भेलामा इजरायली हवाई आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
उनले दक्षिणी गाजा पट्टीको खान युनिसको पश्चिममा रहेको अल–मवासी क्षेत्रमा रहेको शाबान परिवारका विस्थापित व्यक्तिहरूलाई बसोवास गर्ने पालमा इजरायली हवाई आक्रमणमा १० जनाको मृत्यु भएको र धेरै जना घाइते भएको बताउनु भयो । बसलकाअनुसार मध्य गाजामा छुट्टाछुट्टै इजरायली आक्रमणमा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको बताउनु भयो ।
खान युनिसको नासेर मेडिकल कम्प्लेक्सले आठ जनाको शव र धेरै घाइते भएको जनाएको छ । दक्षिणी गाजा पट्टीको रफाहको उत्तरमा रहेको अमेरिकी समर्थित सहायता वितरण केन्द्रको अगाडि खानाको लागि पर्खिरहेका बेला इजरायली सेनाको गोली प्रहारबाट उनीहरूमाथि आक्रमण भएको बताएको छ । इजरायलले मार्च १८ मा आफ्नो सैन्य अभियान पुनः शुरु गरेदेखि ७ हजार १ सय १८ प्यालेस्टिनीहरू मारिएका छन् ।
२५ हजार ३ सय ६८ घाइते भएका छन् । अक्टोबर २०२३ मा द्वन्द्व सुरु भएदेखि गाजामा कुल मृत्यु हुनेको संख्या ५७ हजार ६ सय ८० पुगेको छ । कुल १ लाख ३७ हजार ४ सय ९ जना घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij