२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

बाँकेमा अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण

बिहिवार , आषाढ २६, २०८२

  • 979
    Shares
  • 979
    Shares
  • बाँके, २६ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारले जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरणको कामलाई तीव्रता दिएको बताउनुभएको छ ।

    भूमि समस्या समाधान आयोग बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको व्यवस्थापनमा बिहीवार बाँकेको कोहलपुरमा आयोजित अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीका लागि लालपूर्जा वितरणलाई प्राथमिकताका साथ अघि बढाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘संघीय सरकारले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको हातमा जग्गाको लालपूर्जा पुर्याउने अठोटका साथ काम अघि बढाएको छ । यसमा प्रदेश सरकारको साथ र सहकार्य रहेको छ । भूमिको समस्या स्थायी रूपमा समाधान गर्दै भूमिहीन नागरिकलाई जग्गाको मालिक बनाउने वर्तमान सरकारको स्पष्ट चाहना हो । सोही अनुसार कामहरू अघि बढेका छन् ।’

    मुख्यमन्त्री आचार्यले वर्षौंसम्म भूमि अधिकारबाट वञ्चित भएका नागरिकलाई अधिकार दिलाउन सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो । उहाँले अव्यवस्थित बसोबासीहरूले उठाएका समस्याहरू समाधान गर्न प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गर्दै आवश्यक पहल गरिरहेको जानकारी दिनुभयो । ‘भूमिसँग जोडिएका सबैखाले समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर र संवेदनशील भएको छ,’उहाँले भन्नुभयो ।

    सो अवसरमा कोहलपुर नगरपालिका वडा नम्बर १ का १ सय २२ जना अव्यवस्थित बसोबासीलाई मुख्यमन्त्री आचार्यले जग्गाधनी प्रमाणपूर्जा वितरण गर्नुभयो ।

    भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागीता थियो ।