२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

‘अब मेरो पालो’ परियोजनाका पन्थी सम्मानित

शनिवार , चैत्र २१, २०७७

भैरहवा, २१ चैत ।
‘गतिशिलता बढाऔ, किशोरीलाई जागरुक बनाऔ’ भन्ने मुल नाराका साथ किशोरी समुहको वार्षिक उत्सव कार्यक्रम देवदह नगरपालिका वडा नम्बर १ मा सम्पन्न भएको छ ।

केयर नेपाल र दलित सामाजिक विकास केन्द्रको साझेदारीमा सञ्चालित ‘अब मेरो पालो’ परियोजनाद्वारा गठित प्रगतिशील किशोरी सशक्तिकरण समुह र सगरमाथा किशोरी समुहको आयोजना, केयर नेपाल र दलित सामाजिक विकास केन्द्रको सहयोग तथा देवदह नगरपालिकाको समन्वयमा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले केयर नेपाल र दलित सामाजिक विकास केन्द्रकले सञ्चालन गरेको टिपिङ्ग पोइन्ट फेज २ परियोजनाले  देवदह नगरपालिका १ र २ मा किशोरकिशोरी, आमाबुवा तथा सबैमा व्यवहार परिवर्तन गराउन र किशोरीलाई सशक्तिकरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । यो परियोजना सकिए पनि आफूहरु नगरपालिकाबाट यसलाई निरन्तरता दिनको लागि प्रतिबद्ध रहेको उनले बताइन् ।

त्यस्तै वडा नम्बर १ का अध्यक्ष रमेश शर्मा भुसाल, २ का अध्यक्ष धर्मागत पाण्डेय, दलित सामाजिक विकास केन्द्रका अध्यक्ष रामसरण रैदास, शिक्षक नमकान्त पाण्डेय, समाजसेवी लक्ष्मी पंगेनी, चुडामणि शर्मा, दलित सामाजिक विकास केन्द्रका कर्मचारी सन्तोष पन्थी किशोरी समीक्षा वि.क., आमा समुहबाट भवानी पुलामी लगायतले बोलेका थिए ।

सगरमाथा किशोरी समुहका अध्यक्ष करुणा श्रेष्ठको अध्यक्षतामा तथा किशोरी मुना पचभैयाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । किशोरी सिर्जना शर्मा र सुनिता गैरेको सञ्चालन मा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सो परियोजनामा रही समाज सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै केयर नेपाल दलित सामाजिक विकास केन्द्र र परियोजनाका कर्मचारी सन्तोष पन्थी र रञ्जना चौधरीलाई सम्मान तथा विदाई समेत गरिएको थियो ।
कार्यक्रममा किशोरीको प्रगति प्रतिवेदनका साथै सचेतनामुलक कविता गीत तथा नाटक प्रस्तुत गरिएको थियो ।