
शनिवार , आषाढ २८, २०८२
बुटवल, २८ असार । मैथिल समाज नेपाल रुपन्देहीले बुटवल उपमहानगरपालिका–११ स्थित नहरपुर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै शिक्षकहरूलाई सम्मान गरेको छ। समाजले शुक्रबार विद्यालयमा एक कार्यक्रमकाबीच गरीब तथा विपन्न परिवारका ३८ जना विद्यार्थीलाई झोला तथा स्टेशनरीका सामग्रीहरू वितरण गरेको हो ।
त्यसै गरी विद्यालयमा अध्यापनरत शिक्षक तथा मैथिल समाज नेपाल रुपन्देहीको सदस्य भई शिक्षण पेशामा आबद्धहरू गरी ६० जना बढी शिक्षकलाई सम्मान गरिएको हो । सो अवसरमा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरी प्रोत्साहन गरिएकोमा खुसी व्यक्त गर्नुभयो । समुन्नत समाज निर्माणका लागि शिक्षाको महत्वपूर्ण भूमिका रहने बताउँदै उहाँले सबैको पहुँचमा शिक्षालाई पुर्याउनका लागि मैथिल समाज जस्तै हरेक सामाजिक संघ–संस्थाहरुले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
मैथिल समाज रुपन्देहीका संस्थापक उपाध्यक्ष विद्या सागर झाले सामाजिक तथा सिर्जनात्मक गतिविधिको माध्यमबाट मैथिली समाज एक ठाउँमा उभिने वातावरणको निर्माण गरिएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
उहाँले शिक्षा क्षेत्रको विकास लागि समाजले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर विपन्न तथा गरीब परिवारका विद्यार्थीलाई सहयोग गर्नु सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नहरपुर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर थापा, प्रधानाध्यापक धनिश्वर गौतम, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतले मैथिल समाजको सृजनशील गतिविधिलाई निरन्तरका लागि आग्रह गर्नुभयो । निःश्वार्थ रूपले गरिने कुनै पनि सामाजिक कार्यले सधै सकारात्मक प्रभाव बनाउन सक्ने भन्दै उहाँहरूले थप क्रियाशील भएर अघि बढ्न आग्रह गर्नुभयो ।
मैथिल समाज रुपन्देहीका अध्यक्ष उदय कुमार सिंहको अध्यक्षता तथा कार्यक्रम संयोजक गणेश मइतोको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij