२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

लायन्स भैरहवा ग्रीन सिटीको आयोजनामा रक्तदान

शनिवार , चैत्र २१, २०७७

भैरहवा, २१ चैत ।
सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीको आयोजनामा शनिबार भैरहवामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक धिरज अग्रहरीले बताए । कार्यक्रममा ३० जनाले रक्तदान गरेको अग्रहरीले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले लायन्स क्लबले विभिन्न महत्वपूर्ण कार्य गरेको बताए । उनले धकधई, मर्चवार लगायत रुपन्देहीका ग्रामीण क्षेत्रमा रक्तदानसम्बन्धि जनचेतना फैलाउनुपर्ने बताए । जनता समाजवादी पार्टी नेपाल (जसपा) लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक समेत रहेका पाण्डेयले सचेत तथा सक्षम व्यक्तित्वहरु पनि राजनीतिमा आउनुपर्ने बताए ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका पाष्ट डिष्ट्रिक गभर्नर अरुण प्रताप राणाले भैरहवामा ब्लड बैंक बनाउने तयारी गरिए पनि आर्थिक समस्याका कारण बनाउन नसकिएको बताए । उनले ब्लड बैंंक बनाउनको लागि सरकारी निकायबाट सहयोग हुनुपर्ने धारणा राखे । 

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका स्ट्राटिजिक चिफ महेशचन्द थापाले लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले पहिलो वर्षमै प्रभावकारी काम गरेको बताए । उनले लायन्सको नारा अनुसार अगाडी बढेको क्लबले छुट्टै पहिचान बनाउन सफल भएको बताए । 

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका स्ट्राटिजिक चिफ ओम कुमार श्रेष्ठले यसै वर्ष स्थापना भएको लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी यस क्षेत्रमा पृथक स्थान बनाएको बताए । उनले विश्वको अग्रणी तथा परोपकारी संस्था लायन्स क्लब भएको बताए ।

लायन्स भैरहवा ग्रीन सिटीका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताको अध्यक्षता, कार्यक्रम संयोजक धिरज अग्रहरीको स्वागत, जनसम्पर्क अधिकारी बीना पौडेल क्षेत्रीको ध्वजा अभिवादन तथा सचिव भिम बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

क्लबले रक्तदानसहित विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिएको क्लबका तृतीय उपाध्यक्ष मनोज क्षेत्रीले बताए ।