२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

तिलोत्तमामा विद्युतीय सवारी चार्जिङ्ग स्टेशन स्थापना

आइतवार , आषाढ २९, २०८२

बुटवल, २९ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित नयाँमिलमा विद्युतीय सवारीसाधनका लागि नेपालकै ठुलो चार्जिङ्ग स्टेशन स्थापना गरिएको छ । ४ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको सो चार्जिङ्ग स्टेशनमा एकपटकमा १४ वटा सवारीसाधन चार्ज गर्न सकिने क्षमता रहेको छ । 

स्टेशनमा १ हजार केभिए क्षमताको नेको ट्रान्सफरमर जडान गरिएको र ७ वटा चार्जिङ्ग मेसिनबाट दोहोरो सेवा प्रदान गरिएको शशिला मोटर्स प्रा.लि.का महाप्रबन्धक अशोक सुवेदीले जानकारी दिनुभयो ।
चार्जिङ्ग स्टेशनको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले मुलुकको आर्थिक विकासका लागि ईन्धन आयात घटाउनुपर्नेमा जोड दिनुभयो । यसका लागि स्वदेशमा उत्पादित विद्युत खपत बढाउनुपर्ने उहाँले बताउनुभयो । 

पछिल्लो समय मुलुकका विभिन्न शहरमा फैलिरहेको उच्च वायु प्रदूषण र बढ्दो तापक्रम रोक्न विद्युतीय सवारीसाधनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै नगरप्रमुख खाणले यसको प्रयोगले आयात प्रतिस्थापन गर्न एकप्रकारले सहयोगी हुन सक्ने धारणा राख्नुभयो । 

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले विद्युतीय सवारीसाधनले प्रदान गर्ने सेवाको गुणस्तर उच्चस्तरको हुनुपर्ने बताउँदै अघोषित लोडसेडिङ्गको समस्या समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो। 

विद्युतीय सवारी साधनप्रति आम जनताको विश्वास स्थापित गर्न सेवालाई गुणस्तरीय बनाउनुको बिकल्प नरहेको उल्लेख गर्दै अध्यक्ष खरेलले चार्जिङ्ग स्टेशनमा अटो वर्कसप र अटो पार्टसको व्यवस्था समेत गरिनुपर्नेमा जोड दिनुभयो । 

IMG_6294.JPG

सो अवसरमा शशिला अटो मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडा, महाप्रबन्धक अशोक सुबेदी, विद्युत प्राधिकरणका सहायक प्रबन्धक रामप्रसाद ज्ञवाली, यातायात व्यवसायी बाबुराम खरेललगायतले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग र यसबाट लिन सकिने लाभका बारेमा चर्चा गर्नुभएको थियो । सो अवसरमा शशिला मोटर्स प्रा.लि.बाट हाईगर कम्पनीको विद्युतीय सवारीसाधन खरिद गर्ने तीनजनालाई साँचो हस्तान्तरण गरिएको थियो ।