२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

बर्दिया निकुञ्जका माहुते मार्ने पाटेबाघ पनि समातियाे

सोमवार , चैत्र २३, २०७७

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • बर्दिया निकुञ्जका माहुते मार्ने पाटेबाघ पनि समातियाे, अहिलेसम्म ५ वटा बाघ नियन्त्रणमा बर्दिया राष्ट्रिय निकुञ्ज भित्र आइतबार वेलुका गैँडा गणनामा खटिएका हात्तीका माहुतेलाई मार्ने पाटेबाघलाई निकुञ्जको टाेलीले नियन्त्रणमा लिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण काेष र बर्दिया राष्ट्रिय निकुञ्जकाे संयुक्त टाेलीले निकुञ्ज भित्र पर्ने गैँडा मचान क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

    याे संगै बर्दियाबाट ५ वटा पाटेबाघ नियन्त्रणमा लिइएको छ । भुरिगाउँ क्षेत्रबाट नियन्त्रणमा लिइएको बुढाे पाटेबाघ उपचारका क्रममा मरेकाे थियाे । एउटा बर्दिया निकुञ्ज मुख्यालय ठाकुरद्वारामा राखिएको छ । एउटा बर्दिया निकुञ्जको रम्मापुर सेक्टरमा राखिएको छ । अर्कोलाई बाँके राष्ट्रिय निकुञ्जमा राखिएको पाटेबाघ खाेरकाे सरिया बङ्गाएर भागेकाे छ । अहिले नियन्त्रणमा लिइएको बाघलाई जावलाखेल चिडियाखाना लैजाने तयारी छ ।

    गैँडा गणना गर्न गएकाे हात्तीका माहुते पुलिसराम चाैधरीलाई आइतवार (हिजो) बेलुका बर्दिया राष्ट्रिय निकुञ्ज भित्र गैँडा मचान क्षेत्रमा पाटेबाघकाे आक्रमणबाट ज्यान गएकाे थियो । यसअघि चैत ३ गते पनि यसै क्षेत्र आसपासमा पाटेबाघकाे आक्रमणबाट एक महिलाको ज्यान गएकाे थियाे । निकुञ्जको प्राविधिक टाेलीले क्यामरा ट्रयापिङ गर्दा महिलालाई आक्रमण गर्ने र माहुतेलाई आक्रमण गर्ने पाटेबाघ यहि हुनसक्ने बताउँदै नियन्त्रणमा लिएकाे हाे ।

    अन्दाजी १० वर्षको भाले पाटेबाघलाई राति नै ​टोलीले डार्ट गरि नियन्त्रणमा लिइएको हाे । बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे र पशुचौपायालाई पाटेबाघले आक्रमण गरी ज्यानै लिने घटना बढ्दै गएको छ । नियन्त्रणमा लिइएको पाटेबाघले तीन हप्ताकाे अवधिमा २ जनालाई आक्रमण गरेको निकुञ्जको अनुमान छ । माहुतेलाई आक्रमण गर्ने बाघ त यै नै हाे र तीन साताअघि यसै आसपास क्षेत्रमा महिलालाई आक्रमण गर्ने बाघ पनि यहि हुनसक्ने अनुमान छ निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भन्नभयाे ।

    हिँजाे बेलुका माहुतेलाई पाटेबाघले आक्रमण गरेर ज्यान लिएलगत्तै राष्ट्रिय प्रकृति संरक्षण काेष र बर्दिया निकुञ्जकाे टोलीले रातिनै बाघलाई नियन्त्रणमा लिएकाे जनाएको छ । नियन्त्रणमा लिइएको पाटेबाघलाई सदर चिडियाखाना काठमाडौं लैजाने तयारी थालिएको वार्डेन श्रेष्ठले बताउनुभयो । पाटेबाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविकमार्ग र राष्ट्रिय वन आसपासका क्षेत्रमा एक वर्षभित्र ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।