२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

मन्त्री गुप्ताको ‘घुस डिल’बारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : माओवादी

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं, ३० असार । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस डिलसम्बन्धी अडियोबारे प्रधानमन्त्रीसँग जवाफ माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद पौडेलले यस्तो माग गर्नुभएको हो । उहाँले सरकार भ्रष्टाचार नियन्त्रणमा गम्भीर नभएको आरोप लगाउनु भयो । उहाँले उहाँले विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गोकुल बास्कोटाले सार्वजनिक रूपमा भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिएको स्मरण गर्दै त्यसैगरी जवाफदेही बन्न पनि आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘मन्त्रीको घुस डिल बाहिरिएको छ । केपी ओलीजी प्रधानमन्त्री हुँदा पहिले गोकुल बास्कोटाजीले राजीनामा दिनुभएको थियो । दुनियाँ अगाडि दुनियाले सुन्नेगरी भन्न चाहन्छु–हामी भ्रष्टाचार गर्दैनौं । यो भनाई सम्माननीय प्रधानमन्त्रीज्यूको हो । सभामुख महोदय शून्य सहनशीलता कहाँ छ ? भ्रष्टाचार नियन्त्रणको प्रतिवद्धता कहाँ छ सभामुख महोदय ? लोकतन्त्रको इमानी शासन प्रणाली कहाँ छ ? जसले जे मन लाग्यो त्यही गर्ने, आफ्नो मान्छेले जसो गरेपनि हुने, यही हो लोकतन्त्र ? त्यसकारण तत्काल जनताले थाहा पाउनेगरी मन्त्रीहरुको बारेमा आएका कुराहरु के हुन् ? प्रधानमन्त्रीले जवाफ दिनको लागि म माग गर्दछु ।’ 

आफ्नो मान्छेले जे गर्दापनि हुन्छ भन्ने मानसिकताले देश थप संकटतर्फ जाने उहाँको टिप्पणी छ ।