२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

पर्यटन प्रर्वद्धनका लागि नेपाल र कतारबीच सहकार्य हुने 

मंगलवार , चैत्र २४, २०७७

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • काठमाण्डौ, २४ चैत ।
    नेपाल र कतारबीच पर्यटन प्रर्वद्धनका लागि सहकार्य हुने भएको छ । नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल र  नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीबीच पर्यटन बोर्डमा सोमबार भएको भेटवार्तामा दुवै देशबीच पर्यटन प्रर्वद्धन गर्न सकिने प्रर्याप्त सम्भावना रहेको र मिलेर काम गरे पर्यटन उद्योगलाई थप चलायमान बनाउन सकिने विषयमा छलफल भएको छ । 

    बोर्डको निमन्त्रणमा आएका कतारका राजदूतले नेपाल प्रकृतिको अनुपम उपहार भएको उल्लेख गर्दै पूर्वाधार विकासमा थप जोड दिन सके नेपालले पर्यटनबाट आर्थिक विकास गर्न सक्ने बताए ।

    ‘नेपाल विश्वकै सुन्दर देश मध्ये एक हो । म आफै पनि नेपालका धेरै ठाउँ पुगेको छु । यहाँको प्राकृतिक सौन्दर्यले म सधैँ लोभिने गरेको छु । तर यातायातको उचित प्रबन्ध र महंगो हवाई भाडाले गर्दा चाहेर पनि मानिसहरूले नेपाललाई आफ्नो गन्तव्य बनाउन सकेका छैनन् । यसमा ध्यान दिन सके राम्रो होला, ’राजदूतले भने । 

    उनले नेपालको पर्यटन विकासका लागि नयाँ ढंगले सोच्न आवश्यक रहेको उल्लेख गर्दै  नेपालको पर्यटन प्रर्वद्धनका लागि कतार सरकार सहयोग गर्न सधै तयार रहेको बताए ।

    कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा सरकार र निजी क्षेत्र दुवैले पर्यटन पूर्वाधार विकासमा ध्यान दिइरहको जानकारी गराउँदै पर्यटन बोर्डले कतार सहित मध्यपूर्वमा पर्यटन  प्रर्वद्धनका नयाँ योजना अगाडि सारेको बताए । उनले कतारबाट  नेपाल आउन चाहने पर्यटकको आवश्यकता अनुरूपको व्यवस्थाका लागि नेपाल तयार रहेको बताए । 

    ‘नेपाल आउन चाहने पर्यटकको स्वागतका लागि नेपाल तयार छ । खासगरी कतारी पर्यटकको लागि ‘हलाल’ खानाको उपलब्धता, प्रार्थना कक्ष जस्ता आवश्यक पूर्वाधारको समेत व्यवस्था भइरहेको छ ।’ उनले नेपाल र कतार बीच सिधा हवाई सम्पर्क समेत रहेकोले पर्यटक आवागमनमा खासै समस्या नहुने बताउँदै त्यसको लागि बोर्डले थप पहल गर्ने  बताए  ।

    भेटघाटमा दुवै देशबीच पर्यटन प्रर्वद्धनका लागि छलफल, फेम ट्रिप तथा श्रव्यदृष्य आदानप्रदान गर्ने लगायतका विषयमा छलफल भएको पर्यटन बोर्डका मिडिया कन्सल्टेण्ट टि.पी. भुसालले जानकारी दिए ।