
मंगलवार , आषाढ ३१, २०८२
बुटवल, ३१ असार । रुपन्देहीको सम्मरीमाई र मर्चवारी गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि एकदिवसीय भूमि समस्या समाधानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दुवै पालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रमको सहजीकरण भूमि समस्या समाधान आयोग रुपन्देहीले गरेको थियो ।
सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा मर्चवारी गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले उपस्थित सबैलाई स्वागत गर्दै अभिमुखीकरण तथा तालिमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापामगरले आयोगले थालेका कार्यका लागि पालिकाभित्रका सबै राजनीतिक दल र पालिकाका जनप्रतिनिधिहरूले पनि निरन्तर सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको थियो ।
उहाँले भूमि आयोगले रुपन्देही जिल्लामा भूमि समस्या समाधानका लागि हालसम्म गरेका कार्यहरुबारे जानकारी गराउनुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा आयोगका विज्ञ सदस्य दामोदर पौडेलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको जग्गा वितरणका आवश्यक प्रक्रियाहरुबारे सहजीकरण गर्नुभएको थियो । उहाँले भूमि समस्या समाधान आयोगका कार्यविधि र प्रक्रियाबारे पनि जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा आयोगका सदस्य रामबहादुर थापा र गंगा कार्की तथा नापी अधिकृत अनिल बस्नेत पनि सहभागी हुनुहुन्थ्यो ।
अभिमुखीकरण कार्यक्रममा दुवै पालिकाका उपाध्यक्ष, सम्पूर्ण वडाका वडाध्यक्ष तथा विभिन्न जनप्रतिनिधिहरुको सहभागीता थियो ।
भूमि आयोग रुपन्देहीले जिल्लामा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानलाई पछिल्लो समय तीव्रता दिएको छ । केही दिन अगाडि मात्रै कन्चन गाउँपालिका र सियारी गाउँपालिकामा गरी करिब १ हजार जनालाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij