२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

एक वर्षमा रुपन्देहीमा ८२३ फरार प्रतिवादी पक्राउ

बिहिवार , श्रावण १, २०८२

भैरहवा, १ साउन । रुपन्देहीमा एक वर्षको अवधिमा ८२३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । आर्थिक वर्ष २०८१/०८२ मा ८२३ जना फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

२०८१ साउनदेखि २०८२ असारसम्मको वार्षिक कार्य प्रगति प्रस्तुत गर्दै प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज कार्कीले पक्राउ परेकाहरुबाट ५०६ वर्ष २ महिना १२ दिन कैद र ७ करोड ४५ लाख ८१ हजार ८ सय १४ रुपैयाँ जरिवाना असुलउपर गरिएको जानकारी दिनुभयो ।

आ.व. २०८१÷०८२ मा १ हजार ७ सय ७ मुद्दा दर्ता भएकोमा १ हजार १ सय ४५ वटा फर्छौट भएको र ५६२ वटा बाँकी रहेको डीएसपी कार्कीले बताउनुभयो ।

त्यस्तै एक वर्षको अवधिमा जिल्लामा २५४ जनाले आत्महत्या गरेका छन् । जसमध्ये झुण्डेर २०६, विष सेवन गरी ४५, आगो लगाएर २ र हाम फालेर १ जनाले आत्महत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

एक वर्षमा रुपन्देहीमा १२६ जना लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएकोमा २० जना महिला र २०२ जना पुरुष गरी २२२ जना पक्राउ परेका छन् ।

अवैध रुपमा भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याइएका १२ करोड ६७ लाख ७१ हजार ७ सय ७९ रुपैयाँ बराबरको सामान रुपन्देही प्रहरीले बरामद गरेको छ । भन्सार छली तथा तस्करीमा संलग्न ११३ जना व्यक्तिहरु पक्राउ परेका छन् । त्यस्तै भन्सार छलीमा प्रयोग भएका ३०२ मोटरसाइकल, ८ वटा ट्रक, १७ वटा पीकअप, ३ वटा अटो, एउटा ट्याक्टर पनि बरामद गरिएको छ ।

बरामद भएको सामान र तस्करीमा संलग्न व्यक्तित्वहरु आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय, पशु चेकपोष्ट बेलहिया र राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरीका अनुसार अवैध माटो तथा बालुवा उत्खनन्् गरिरहेको अवस्थामा ६० वटा ट्याक्टर, ३० वटा जेसीबी र २३ वटा टिप्पर, हाईवा नियन्त्रणमा लिई सम्बन्धित स्थानीय तहमा पठाइएकोमा ४२ लाख ९२ हजार ७८ रुपैयाँ जरिवाना भएको छ ।

आ.व. २०८१/०८२ मा ६२५ वटा मोबाईल हराएको सम्बन्धी निवेदन आएकोमा १६७ वटा फेला पारी सम्बन्धीत धनीलाई बुझाइएको डीएसपी खत्रीले बताउनुभयो । त्यस्तै ३६४ वटा मोटरसाईकल हराएको सम्बन्धी निवेदन आएकोमा ३६४ वटा फेला पारी सम्बन्धित धनीलाई बुझाइएको उहाँले जानकारी दिनुभयो ।

एक वर्षको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय तथा मातहत संयुक्त रुपमा गरिएको चेकिङमा ३६ हजार २ सय १६ सवारीसाधनलाई कारवाही गरिएको र त्यसबाट ४ करोड ७७ लाख ५० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीले सवारी चेकजाँचलाई नियमित रुपमा सञ्चालन गरिने बताउनुभयो ।

IMG_9600.JPG

आ.व. २०८१/०८२ मा ७९७ मा सवारी दुर्घटना भएकोमा १२१ जनाको मृत्यु, ३५० जना गम्भिर घाइते र ८७६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै एक वर्षमा आगलागीका ४७, चट्याङ २ र डुबेको २ वटा घटना भएका छन् । ती घटनामा ३ जना मानिस र ७ जना चौपायाको मृत्यु भएको तथा ५ करोड ५५ लाख ४४ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

जिल्लामा ६४८ वटा घरेलु हिंसा सम्बन्धि उजुरी परेको छ । आ.व. २०८१/०८२ मा महिला, बालबालिका तथा जेष्ठ नागरिक हराएको सम्बन्धी निवेदन आएकोमा ७९३ जना फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै कर्तव्य ज्यान, बैंकिङ कसुर, मोटरसाईकल चोरी, मानव बेचबिखन तथा ओसारपसार, कल÷म्यासेज बाईपासमा संलग्नलगायत मुद्दाका प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।