२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

आफूले कसैलाई घुस नखुवाई कम्पनी रेन्यु गरेको : सांसद डा. सुनिल शर्मा

आइतवार , श्रावण ४, २०८२

काठमाडौं, ४ साउन । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले शेखर कोईरालाको पक्षमा काँग्रेसमा ६० प्रतिशत सांसदहरु रहेको दाबी गर्नुभएको छ ।

पार्टीका सांसद एवं कोईराला पक्षधर नेताहरुसँगको भेटपछि आईतवार काठमाडौंमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा केन्द्र सरकार र प्रदेश सरकारमा रहेका आफू निकट मन्त्रीहरुलाई फिर्ता बोलाउने बारेमा पनि छलफल भएको बताउनु भयो ।

उहाँले यसको निष्कर्ष भने निस्कि नसकेको र अर्को चरणको बैठक बसेर यसबारेमा निर्णय गर्ने सहमति भएको बताउनु भयो । उहाँले संसदीय दलको नेतामा भिड्न सांसद कोईरालाले चाहने हो भने ६० प्रतिशत पुग्ने दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हाम्रा जति पनि साथीहरु केन्द्रिय स्तरमा वा प्रदेश स्तरमा मन्त्री मण्डलमा हुनुहुन्छ, यि सबै साथीहरुलाई ब्याक बोलाउने भन्नेसम्म पनि जानसक्छ । त्यसैको निम्ति एक दुई दिन हामीलाई समय लाग्छ । आजका मितिमा डा. शेखर कोईरालाले चाहँदाखेरी संसदीय दलमा हाम्रो सम्मानजनक अवस्था छ । संसदीय दलमा भिड्ने हो भने ६० प्रतिशत पुग्छ । अहिले देश रोएको अवस्था छ ।’

सांसद शर्माले यस वर्ष आफूले कसैलाई घुस नखुवाई कम्पनी रेन्यु गरेको बताउनु भयो । वर्तमान सरकारले सुशासन दिन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको धारणा नेता कोईरालाले राख्दै आउनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा –माओवादी केन्द्र र सत्ता सहयात्री नेकपा एमालेकी नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेसँगै सरकार परिवर्तनको चर्चा चुलिएको छ ।