२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

च्यासलमा ओली र विद्याले भनेः थप विभाजित हुँदैनौँ, अब जे गर्छौं सहमतिबाटै गर्छौं

आइतवार , श्रावण ४, २०८२

काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीबीच सहमतिबाटै समस्या समाधान गर्ने समझदारी बनेको छ । 

पार्टी केन्द्रिय कार्यालय च्यासलमा भएको वान टु वान वार्ताका क्रममा दुई नेताहरुबीच एकले अर्कोलाई विभाजित गरेर नभइ सहमति र समझदारी बनाएर अघि बढ्ने निष्कर्ष निस्केको हो ।

छलफलबारे जानकारी दिँदै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले छलफल सकारात्मक ढंगले अघि बढेको र राजनीतिले नै सम्बन्धलाई अघि बढाउने बताउनु भयो । दुई नेताहरुले आज आफूलाई लागेका कुराहरु खुलेर राख्नुभएको र अब कुनैपनि हालतमा एकले अर्कालाई विभाजन गरेर अघि बढ्नसक्ने स्थिति नरहेकोमा सहमति जुटेको बताउनु भयो । 

अब पार्टीमा हुने गतिविधिहरु सहमति र छलफलबाटै अघि बढाउने निष्कर्ष निकालिएको उहाँको भनाई छ ।  

उहाँले भन्नुभयो, ‘छलफल सकारात्मक ढंगले अघि बढेको छ । राजनीतिले नै सम्बन्धलाई टुंगो गर्दछ । सम्बन्धले राजनीतिको टुंगो गर्दैन । आज राजनीतिक मुद्दाहरुमा, दृष्टिकोणमा समानता हुने परिस्थिति निर्माण भइसकेपछि राजनीतिले नै सम्बन्धलाई सुदृढ बनाएर लैजान्छ भनेझैँ आज खुलेर पार्टीको आन्तरिक जीवन, विधान महाधिवेशन, त्यसको तयारीका सन्दर्भमा र अहिलेका राष्ट्रिय राजनीतिका विकसित घटनाक्रमका बारेमा दुवै नेताहरुको बीचमा खुलेर एकले अर्कालाई लागेका कुरा राख्नुभएको छ । अब कुनैपनि हालतमा एकले अर्कालाई विभाजन गरेर अघि जानसक्ने परिस्थिति बन्दैन । हामी जे गर्छौं सहमति र छलफलबाट नै टुंग्याउँछौँ भन्नुभएको छ ।’

प्रचार विभाग प्रमुख गौतमले एकले अर्कोलाई निषेध गरेर अघि बढ्ने स्थिति नरहेको निष्कर्ष निस्किएको बताउनु भयो।