
सोमवार , श्रावण ५, २०८२
काठमाडौं, ५ साउन । नेपालमा बाल विवाहको दर अझै पनि उच्च रहेको सरकारी तथ्यांकले देखिएको छ ।
राष्ट्रिय बाल अधिकार परिषद्को बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन, २०८१ ले नेपालमा अझैपनि बाल विवाहको दर उच्च रहेको देखाएको हो । सोमवार प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा प्रतिवेदन प्रश्तुत गर्दै परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार जनसंख्याको आधारमा ५४ हजारभन्दा बढी बालबालिकाले १८ वर्ष भन्दा कम उमेरमै विवाह गर्ने गरेका छन् ।
यसमध्ये ७ प्रतिशत बालबालिका १० देखि १४ वर्षको उमेरमै विवाह गर्ने गरेका छन् भने २२.३ प्रतिशत बालबालिका १५ देखि १७ वर्षको उमेरमा विवाह गर्दछन् । सूचना अधिकारी चन्दले समग्रमा बाल विवाहको औसत उमेर १६ वर्ष रहेको बताउनु भयो । उहाँले बालबालिकाको स्वास्थ्यसम्बन्धी तथ्यांक समेत चिन्ताजनक रहेको बताउनु भयो । उहाँले ५ वर्षमुनिका १९ प्रतिशत बालबालिकाको तौल सामान्यभन्दा कम रहेको बताउनु भयो । उहाँकाअनुसार बाल स्वास्थ्यको अवस्था मधेस प्रदेशमा सबैभन्दा कमजोर रहेको देखाएको छ ।
उहाँले भन्नुभयो, ‘जनसंख्याको आधारमा ५४ हजार भन्दा बढी बालबालिकाहरुको १० वर्षमुनि विवाह भएको छ । १० देखि १४ वर्षको उमेरमा विवाह गर्ने बालबालिकाहरु ७ प्रतिशत रहेका छन् । १५ देखि १७ वर्षमा विवाह गर्नेहरु २२.३ प्रतिशत रहेका छन् । समग्रमा अहिले बाल विवाह ३० वर्ष रहेको अवस्था देखिन्छ ।
जबकी हाम्रो मुलुकी अपराध संहितामा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । नेपालको सन्दर्भमा ५ वर्षमुनिका तौल नपुगेका बालबालिका १९ प्रतिशत रहेका छन् । प्रदेशको हिसावमा सबैभन्दा बढी मधेस प्रदेशमा २७ प्रतिशत रहेको छ । र सबैभन्दा कम वागमती प्रदेशमा राम्रो अवस्था देखिन्छ ।
नेपालमा उचाई नपुगेको बालबालिका कुल बालबालिकाको २५ प्रतिशत रहेका छन् । अध्ययनले ७९ प्रतिशत बालबालिकाहरु अस्पतालमा जन्मिएको तथा २१ प्रतिशत बालबालिकाहरु घरमा जन्मिन्छन् । यसरी स्वास्थ्य संस्थामा बालबालिकाको जन्म गण्डकी र वागमती प्रदेशमा छन् । सबैभन्दा कम मधेस प्रदेशमा ६७ प्रतिशत रहेका छन् ।’
सूचना अधिकारी चन्दले सरकारले बाल अधिकार संरक्षण र बाल स्वास्थ्यमा सुधार गर्न नीतिगत सुधार गर्न जरुरी रहेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij