२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

विपीलाई बुझेको भए राजसंस्था नागार्जुनको जंगलमा पुग्ने थिएन : विश्वप्रकाश शर्मा

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं, ६ साउन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपी कोईरालालाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था अहिले नागार्जुनको जंगलमा थन्किएको टिप्प्णी गर्नुभएको छ ।

४३ औँ विपी कोईराला स्मृति दिवसको अवसरमा मंगलवार विपी स्मृति अस्पताल, बसुन्धरामा आयोजित ‘देश विकास र देशवासीको उन्नतिको आधारः विपी विचार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सो कुरा बताउनुभएको हो । उहाँले ‘राजा र मेरो गर्धन जोडिएको छ’ भन्ने विपीको विचारलाई राजसंस्थाले अपव्याख्या गरेको बताउनु भयो ।

त्यसको परिणाम नेपालमा राजसंस्थाको समेत अन्त भएको उहाँको दाबी थियो । उहाँले विपी कोईरालालाई बुझ्ने सवालमा नेपालमा धेरै ने कमजोरी भएको उल्लेख गर्नुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, ‘विपी कोईरालालाई सही मानेमा जति चाँडो जति सही मानेमा बुझ्न सकिन्छ, त्यति चाँडो देशको उन्नतीलाई सहज बनाउन सकिन्छ । विपी कोईरालालाई बुझ्ने सवालमा, विपी कोइरालालाई चिन्ने सवालमा, विपी कोईरालालाई आत्मसात गर्ने सवालमा नेपालको भिन्न भिन्न शक्तिहरूबाट कमजोरी भएको छ ।

हामीबाट भएको एउटा कमजोरी छ, नेपालको कम्युनिष्ट आन्दोलनले विपी कोईरालालाई बुझ्ने सवालमा अर्को कमजोरी छ । राजसंस्थाले, राजाहरूले गर्ने कमजोरीको अर्को पाटो छ ।’

नेपाली काँग्रेसले पनि विपीलाई उचित ढंगले बुझ्न नसकेको र नेपालका कम्युनिष्ट पार्टी र राजसंस्थाबाट पनि विपीलाई बुझ्ने सवालमा कमजोरी रहेको उहाँको भनाई छ ।