२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं, ६ साउन । वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले आ.व.०८०–०८१ मा ११ प्रतिशत भन्दा बढी महिलाहरु वैदेशिक रोजगारीमा गएको बताउनुभएको छ ।

मंगलवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आ.व. ०७७–०७८ मा ६.८७ प्रतिशत, ०७८–०७९ मा ७.७९ प्रतिशत, ०७९–०८० मा ९.३५ प्रतिशत, ०८०–०८१ मा ११ प्रतिशत भन्दा बढी रहेको बताउनु भयो ।

महिलाहरुको वैदेशिक रोजगारीमा सहभागिता दर क्रमिक रुपले बढ्दै गएको भन्दै कतिपय मुलुकमा श्रम स्वीकृति दिएर जान रोक लगाइए पनि अवैधानिक बाटोबाट जाने गरेको बताउनु भयो । उहाँले अवैधानिक रुपबाट वैदेशिक रोजगारीमा जानेहरु विभिन्न शोषण र समस्यामा पर्ने गरेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘आ.व. ०७७–०७८ मा ६.८७ प्रतिशत, ०७८–०७९ मा ७.७९ प्रतिशत, ०७९–०८० मा ९.३५ प्रतिशत, ०८०–०८१ मा ११ प्रतिशत भन्दा बढी रहेको अवस्था पाउँछौँ । महिलाहरुको वैदेशिक रोजगारीमा सहभागिता दर क्रमिक रुपले बढ्दै गएको छ । कतिपय मुलुकमा श्रम स्वीकृति दिएर जान रोक लगाइएको छ ।

सुरक्षा चुनौतिका कारण तर अवैध बाटो हुँदै जानुभएको छ । विदेशमा श्रम स्वीकृति लिएरै काम गर्न जाने भएपनि महिला श्रमीक नपठाउने भनेका देशहरुमा पनि महिला श्रमीक गएको र विभिन्न समस्या आएको छ । वैधानिक बाटोबाट नजाँदा विभिन्न समस्या आउनसक्छन् । सरकारले जुनसुकै कुनामा गएर अलपत्र परेको नेपालीलाई उद्धार गरेर ल्याइरहेको छ ।’

पछिल्लो समयमा संस्थागत रुपले जाने भन्दा व्यक्तिगत रुपमा जाने दर बढिरहेको बताउनु भयो । संस्थागत भन्दा व्यक्तिगत रुपमा जाने श्रमीकहरु बढी ठगिरहेको बताउनु भयो ।