
मंगलवार , श्रावण ६, २०८२
काठमाडौं, ६ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालका कम्युनिष्ट पार्टीहरु सामन्ती झुण्डमा परिणत हुन थालेका टिप्पणी गर्नुभएको छ ।
पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । कम्युनिष्ट पार्टीहरुभित्र प्रश्न उठाउने र बहस गर्ने वातावरणहरु नै हराउँदै गएको उहाँको भनाइ छ । उहाँले जनवादी केन्द्रियताको कुरा गर्ने कम्युनिष्ट पार्टीहरुमा जनवाद हराउँदै गएको बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीहरुको केन्द्रियता नोकरशाही केन्द्रियतामा परिणत भएको भन्दै समिक्षा गर्ने बेला भएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज कम्युनिष्ट पार्टीभित्र प्रश्न सुन्न पनि सकिदैन । प्रश्न सुन्न नेतृत्व तयार हुदैन । जनताले प्रश्न गर्छ, हाकी कान सुनेर बस्छौं । यस्तो प्रवृत्ति विकास हुँदा हामी जनवादी केन्द्रीयताको कुरा गरिराखेका छौं । जनवाद समाप्त भयो । केन्द्रीयता मात्रै बाँच्यो । केन्द्रीयता पनि केन्द्रीयता रहेन नोकरशाही केन्द्रीयतामा बदलियो । त्यतिमा मात्र सिमित भएन त्यो सामन्ती निरङ्कुशतामा बदलियो । र कम्युनिष्ट पार्टीहरु सामन्ती झुण्डहरु जस्ता बन्न थाले । यो अवस्था आजको अवस्था हो ।’
उपमहासचिव शर्माले पटक–पटक सरकारको नेतृत्व गरेका कम्युनिष्ट पार्टीहरुले गरिबी, उत्पीडन र सामाजिक विभेद अन्त्य गर्न नसकेको बताउनु भयो । कम्युनिष्ट पार्टीहरुले ९ पटक सरकारको नेतृत्व गरेको भएपनि देशमा गरिबी, दलित र जनजातिमाथिको उत्पीडन, महिला हिंसा र बेरोजगारी हटाउन नसक्नु गम्भीर समस्या भएको उहाँको भनाइ छ ।
उहाँले कम्युनिष्ट पार्टीहरु कुर्सीको खेलमा अल्मलिँदा जनताले निकाश नपाएको बताउनु भयो । उपमहासचिव शर्माले ९ पटक सरकारको नेतृत्व गर्दा हामीले के दियौं ? के बदल्यौं ? के पूरा ग¥यौं वा किन गरेनौं ? यो गम्भीर प्रश्न छ । कम्युनिष्ट आन्दोलन सुधार गर्ने वा विघटनतर्फ जाने भन्ने जिम्मेवारी आजका कम्युनिष्ट नेताहरूले बोक्नुपर्ने उहाँको भारणा छ ।
उहाँले भन्नुभयो, ‘९ पटक नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनिरहँदा आज देशो गरिबीको अवस्था, उत्पीडित जाति, दलितहरुको अत्याचार र महिला हिंसामाथिको अत्याचार जमाइराख्या छ । अहिले जनजातिका पहिचानका मुद्दाहरु हराइरहेका छन् । आज हाम्रा लाखौं युवाहरु विदेशी भूमिमा पसिना बगाइरहेका छन् ।
आज हाम्रो देशको जमिन बाझो छ । खण्डहर बन्दै गएको छ । यही कम्युनिष्ट पार्टीप्रति फर्किएको इतिहासको सबैभन्दा कटु प्रश्न हो । ९ पटक सरकारको नेतृत्व गर्दा हामीले के दियौं ? के बदल्यौं ? के पुरा गर्यौं वा किन गरेनौं ? यो गम्भीर प्रश्न छ । यो राष्ट्र निर्माणसँग सम्बन्धीत, समाज परिवर्तनको नयाँ अभियानसँग सम्बन्धीत, यो नयाँ विचार र सुशासन तथा सामाजिक अभियानसँग सम्बन्धीत प्रश्न हो ? यसको उत्तर आजका कम्युनिष्ट पार्टीहरुले दिनुपर्दछ ।
हाम्रो पार्टीका आचरण र व्यवहारलाई फेर्न सक्छौं कि सक्दैनौं भन्ने मुख्य कुरा हो । हामीले फेर्न सक्दा यसको उत्तर आउने छ । फेर्न नसक्दा यथास्थितिको गोलचक्करमा कम्युनिष्ट आन्दोलन हराएर समाप्त हुने छ । यसलाई विघटन हुने कि जनताको नियाँ विकल्पको रुपमा प्रश्न खडा भएको छ ।’
उहाँले ननेपालका कम्युनिष्ट नेताहरुले सेटिङमा असुली धन्दा गरेको ठहर भएकै जिकिर गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij