
बुधवार , श्रावण ७, २०८२
काठमाडौं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले गणतन्त्रमा झार पलाएको टिप्पणी गर्नुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । गणतन्त्र त आएको तर झार पलाएर गणतन्त्रका फूलहरु खोज्नुपर्ने भएको उहाँको भनाइ छ । हरेक दिन एकताको कुरा गर्ने तर आफैँभित्र उकुसमुकुसको स्थिति रहेको उहाँको भनाइ छ ।
कम्युनिष्ट आन्दोलनलाई एकता नै आवश्यक रहेको तर त्यसका लागि निश्चित दृष्टिकोणको जरुरी रहेको उहाँको भनाइ छ । नेपालको राजनीतिमा गणतन्त्र आएपछि दलालहरुका झारपातहरु मौलाएको उहाँको जिकिर छ ।
महासचिव चन्दले भन्नुभयो, ‘हामी हरेक समयमा एकताको कुरा गर्छौं तर हामीभित्र उकुसमुकुस छ । हामीलाई चाहिएको एकता नै हो । हामीलाई चाहिएको मोर्चा नै हो । सहकार्य र सहयात्रा नै हो । त्यसको लागि एउटा निश्चित दृष्टिकोण नै हो । नेपाली समाजको नयाँ व्याख्या जरुरी छ ।
प्रचण्डहरुले निर्णय गर्नुभएको थियो, यो पहाड भत्काएको हामीले हो । निःशर्त हो । आज पनि भत्काउँछौँ । दलालहरुलाई कुनकुन खाल्डोमा हाल्नुपर्छ भन्ने राम्रोसँग थाहा छ । गणतन्त्रमा झारपात उम्रिएका छन् । गणतन्त्रका फूलहरु हेर्न झारहरु पल्टाएर हेर्नुपर्ने भयो । नेपालको राजनीतिमा गणतन्त्र आएपछि दलालहरुका झारपातहरु मौलाएका छन् ।
कुन फूल र कुन झारपात नेपाली जनता अल्मलमा परेका छन् । बर्खामा च्याउ उम्रिएका जस्ता झारपात उम्रिएका जस्ता राजनीतिक दलहरु छन् । गणतन्त्रमा बर्खामा उम्रिएका झारपातहरु छन् । गणतन्त्र त आयो तर झारपातले ढाक्यो । ’
महासचिव चन्दले निश्चित दृष्टिकोणसहित अघि बढेर कम्युनिष्ट एकतालाई अझ बलियो बनाउनुपर्ने बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij