
बुधवार , श्रावण ७, २०८२
तिलोत्तमा, ७ साउन । महिला नेतृत्व मञ्चको आयोजनामा रुपन्देहीको तिलोत्तमामा सञ्चालित तीनमहिने बेसिक सिलाइकटाई तालिम सम्पन्न भएको छ । उक्त तालिमको बुधबार नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।
कार्यक्रम नगरप्रमुख खाणले समृद्धि भौतिक विकासबाट मात्र नहुने बताउनुभयो । उहाँले महिलालाई आर्थिक रुपमा माथि उकास्न सके मात्र समग्र परिवार, समाज र देश विकास हुने बताउनुभयो । ‘शिक्षामा मात्र होइन सीप सिकाएर स्वावलम्बी बनाउन सकियो भने महिलाले समुन्नत समाज निर्माणमा सघाउँछन्, उहाँले भन्नुभयो, महिलालाई हरेक तह बा स्वरोजगार र सिपयुक्त बनाउन जरुरी छ ।’
त्यस्तै मञ्चकी संरक्षक गंगा शाहीले महिलामा ३२ लक्षण भन्ने नारामा इलम थपे ३३ लक्षण भन्न मिल्ने गरी महिला अघि बढनुपर्ने बताउनुभयो । उहाँले कल चलाउन नजान्ने महिलाले लुगा सिलाएर लगाउने र व्यापारकै हिसाबले पसल सञ्चालन गरेर परिवारलाई सघाउन सक्ने बताउनुभयो । उहाँले अब एडभान्स तालिम समेत लिएर व्यवसायिक बन्न सुझाव दिनुभयो ।
सो क्रममा मन्जरी बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष कृष्ण भुसाल, उपाध्यक्ष राजकुमार वाग्ले, करहिया सामुदायिक वनका अध्यक्ष हरिलाल पाण्डे, नेपाली काँग्रेस तिलोत्तमा नगरपालिका–८ का सभापति केशव अर्याल, १६ छत्तिस कुलापानी समितिका वरिष्ठ उपाध्यक्ष विदुर पाण्डे, ज्योती आधारभूत विद्यालयका अध्यक्ष सुरज थापा, शान्तिवन टोल विकास समितिका सचिव पारिश्वर पौडेल लगायतले नगरको सहयोगमा महिलालाई अघि बढाउने सीप तालिम ल्याइ आत्मनिर्भरताको बाटोमा अघि बढन नेतृत्व मञ्चले खेलेको भूमिका तारिफयोग्य भएको बताउनुभयो । उहाँहरुले अब यो सीप सिकेपछिको बाटो आफै पहिल्याउन सक्ने गरी दिदिबहिनीले तत्परता देखाउनुपर्ने भन्दै भविष्यमा केही न केही गर्छौं भनेर अठोट राख्नुपर्ने बताउनुभयो ।
प्रशिक्षार्थीको तर्फबाट बोल्दै रुपा ज्ञवालीले यस्ता तालिमले आफूहरुलाई घरै बसेर पनि पेशा अपनाउन सकिने र बाहिर पैसा तिरेर गर्नुपर्ने काम आफैले गर्न सक्ने बनेको बताउनुभयो । उहाँले अझै थप सिक्दै अघि बढन एडभान्स तालिमले सहज हुने बताउनुभयो ।
कार्यक्रममा महिला नेतृत्व मन्चकी अध्यक्ष बालाकुमारी घिमिरेले महिलाको स्वावलम्बनका लागि महिलाले नै कुनै न कुनै माध्यम जोड्ने जमर्को गरेको बताउनुभयो । उहाँले यो तालिमको समापनसँगै सोही समूहलाई एडभान्स तालिम सुरु गरिएको भन्दै महिलामा इच्छा भए सफल हुन केही कुराले नरोक्ने बताउनुभयो । उहाँले अहिले मात्र नभइ संस्था स्थापनादेखि आफूहरुले कसरी महिलाको जीवनस्तर उकास्न सकिन्छ भन्ने विषय अध्ययन गर्दै कार्यक्रम गर्दै अघि बढेको बताउनुभयो ।
संस्थाकी सचिव कोपिला काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।तालिममा ३३ जना महिलाको सहभागीता थियो । तालिमको रोटरी क्लब अफ रुद्रमती काठमाडौं र दिदी फाउण्डेशनले सहकार्य गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij