२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

वाणिज्यदुतहरू आर्थिक कुटनीतिका सक्रिय साझेदार भएको : परराष्ट्रमन्त्री राणा

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं, ८ साउन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कुटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारका लागि अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित अनररी कन्सुलर कोर नेपाल (एचसीसी–एन) को १८ औँ वार्षिक साधारणसभा तथा चार्टर डे समारोहमा बोल्दै मन्त्री राणाले यस्तो बताउनुभएको हो । नेपाल र अवैतनिक वाणिज्यदुतहरुले प्रतिनिधित्व गरेका राष्ट्रहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै सम्बन्धित राष्ट्रहरूसँग आर्थिक, शैक्षिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार गर्न अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । 

मन्त्री डा. राणाले भन्नुभयो “वर्तमान विश्वमा द्विपक्षीय सहयोग र साझेदारीलाई साझा समृद्धिका लागि अगाडि बढाउनुपर्ने आवश्यकता छ । व्यापार प्रवद्र्धन, वैदेशिक लगानी आर्कषण, बजारसम्मको पहुँचको सुनिश्चितता, अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि प्रवद्र्धन तथा परस्पर लाभ र चासोका विषयहरुमा यहाँहरुको योगदान अनिवार्य र महत्वपूर्ण छ ।”

कार्यक्रममा बोल्दै एचसीसीएनका डिन चन्द्रप्रसाद ढकालले अवैतनिक वाणिज्यदुतहरू केवल औपचारिक प्रतिनिधि नभई नेपालको आर्थिक कुटनीतिका सक्रिय साझेदार भएको बताउनु भयो । ढकालले वर्तमान विश्व पारस्परिक रूपमा जोडिएको परिस्थितिमा आर्थिक कुटनीतिको महत्व झन तिब्र गतिमा बढिरहेको उल्लेख गर्नुभयो । अवैतनिक वाणिज्यदुतहरूले आर्थिक रूपान्तरणमा स्वयंसेवकको रूपमा काम गर्नसक्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, “आजको विश्वव्यापी युगमा आर्थिक कूटनीति विकल्प होइन, आवश्यकता हो । हामी सेरेमोनिएलबाट माथि उठेर सक्षम, सक्रिय र समर्पित ढंगले नेपालको कुटनीति र विकासमा योगदान दिइरहेका छौँ।”

आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले राष्ट्रिय हितका पक्षमा एचसीसीएन सदैव रहने बताउनु भयो । ढकालले एचसीसीएन राष्ट्रिय प्राथमिकताप्रति समर्पित रहेको बताउँदै परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा महासंघ र एचसीसीएनले पहिलोपटक नेपालमा आर्थिक सम्मेलन आयोजना गर्नको लागि तयारी गरिरहेको जानकारी बताउनु भयो ।